काठमाडौं । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मानव तस्करीमा संलग्न रहेको आरोपमा बुधबार पक्राउ गरेको छ।
भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख रहँदा मानव तस्करीमा संलग्न गिरोहसँग साँठगाँठ गरेको आशंकामा उनलाई पक्राउ गरिएको हो। अनुसन्धानको क्रममा अध्यागमन कार्यालयबाट भिजिट भिसाको नाममा फर्जी कागजातका आधारमा नेपाली नागरिकलाई साउदी, यूएई, कुवेतलगायत देश पठाउने कार्यमा अधिकारीहरूको संलग्नता देखिएको आयोगको भनाइ छ।
सूत्रका अनुसार महिलालाई ‘एल’ र पुरुषलाई ‘एस’ कोड दिएर अध्यागमन चेकजाँचमा सहजता मिलाइने गरिएको थियो। उक्त कार्यमा कार्यालयका विभिन्न तहका कर्मचारीहरू समेत संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
तीर्थराज भट्टराईको मोबाइलसमेत जफत गरिएको छ र त्यसबाट थप प्रमाणहरू संकलन भइरहेको आयोगले जनाएको छ। हाल उनी अख्तियारको टंगालस्थित कार्यालयमा राखिएका छन्।
भट्टराई विवादास्पद अधिकारीको रूपमा चिनिन्छन्। उनी २०७२ सालको ‘त्रिपाल काण्ड’मा पनि मुछिएका थिए। पछिल्लो समय शक्ति केन्द्रसँगको निकटताका आधारमा प्रमुख पदहरूमा नियुक्त हुँदै आएका थिए।
एकदिन अघि मात्र सरुवा भई गृह मन्त्रालय पुगेका भट्टराईविरुद्ध गृह मन्त्रालयमा समेत जानकारी पुगेको र त्यसकै आधारमा उनलाई हटाइएको स्रोतको दाबी छ।