काठमाडौं । तीन साताको हिरासत बसाईपछि एक लाख धरौटीमा रिहा भएका सर्वोच्च अदालतका अधिकृत महिमान अदालत गएको पाइएको छ । उनी छुटे लगत्तै अदातलमा गएका थिए ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई कैद गर्न भन्दै आफूखुसी पत्र लेखेर सनसनी मच्चाउने महिमानसिंह विष्ट मंगलबार दिउँसो सर्वोच्च अदालत परिसरमा पुगेका थिए ।
सोमबार मात्र जिल्ला अदालत, काठमाडौंका न्यायाधीश दिनबन्धु बरालको इजलासले उनलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश लगतै भोलिपल्टै अदालत गएका महिमान निलम्बन नै नभएको पाइएको छ । किर्ते गरेर पक्राउ परेका महिमानलाई अदालतले निलम्बन नगरेका कारण उनी कर्मचारीकै रुपमा अदालत गएका थिए ।
रिट महाशाखाको ४ नम्बर फाँट बाहिर विष्टको नाम उल्लेखित बोर्ड समेत भएको र उनी एक्कासी अदालत गएका कारण हल्लिखल्लि भएपछि मात्रै सर्वोच्च अदालत प्रशासनले उनलाई तत्कालै निलम्बन गर्ने निर्णय गर्यो ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीबीच एकीकरण घोषणा सभास्थलबाटै चौधरी पक्राउ परेपछि पार्टीले सरकारबाट बाहिरिने घोषणा गरेको थियो । यद्यपि, पत्रको खास कारण थाहा भएपछि अदालतले कारागार प्रशासनलाई अर्को पत्र पठायो र साढे ५ घन्टापछि चौधरी थनामुक्त भए । पार्टी सरकारबाट बाहिरिने निर्णयबाट पछि हट्यो ।
सर्वोच्च अदालतले पत्र लेख्ने विष्टविरुद्ध नै अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंलाई पत्र लेख्यो । रेशमलाई थुन्न चाहने उनी आफैं पक्राउ परे ।

