प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले सोधे महानगरका प्रहरी प्रमुख पाण्डेलाई स्पष्टीकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई सात दिनभित्र स्पष्टिकरण दिन निर्देशन दिएका छन्। स्पष्टिकरणमा सन्तोषजनक उत्तर नआएमा कानुनी प्रक्रियाअनुसार कारबाही अघि बढाइने चेतावनी पनि दिइएको स्रोतले जनाएको छ।

गुरागाईंले सोमबार पठाएको स्पष्टिकरण पत्र मंगलबार पाण्डेले बुझिसकेका छन्। पत्रमा हालै महानगरपालिका कार्यालयमा देखिएको अव्यवस्थित व्यवहार र कार्यालयीन कार्य सञ्चालनमा गरिएको अवरोधप्रति प्रश्न उठाइएको छ।

गुरागाईं लामो बिदापछि चैत २१ गते कार्यस्थलमा फर्किंदा पाण्डेले अवरोध पुर्‍याएको, जनप्रतिनिधिहरूको बाटो छेक्ने, कार्यकक्षमा तालाबन्दी गर्न लगाउने, र कार्यालय सञ्चालनमा असहयोग गर्ने आरोप स्पष्टिकरण पत्रमा उल्लेख गरिएको छ।

यसअघि महानगरपालिका अन्तर्गतका कर्मचारी संगठनहरूले समेत प्रमुख पाण्डेविरुद्ध कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्रमा महानगर प्रहरी ऐनअनुसार उनलाई तत्काल निलम्बन गरेर छानबिन गर्न माग गरिएको थियो।

घटनाले काठमाडौं महानगरपालिकाभित्र आन्तरिक समन्वयको अभाव र प्रशासन तथा सुरक्षाबीचको कार्यसम्बन्धमा गम्भीर प्रश्न खडा गरेको छ। स्थिति सुल्झाउनेतर्फ दुबै पक्ष गम्भीर बन्ने वा द्वन्द्व थप चर्किने भन्ने विषय अबको केही दिनमा प्रष्ट हुने देखिन्छ।

सम्बन्धित समाचार

ताजा न्यूज