जिन्दगानी नदी र खोलाको किनार मै बित्ने भो । कहिले मर्स्याङ्दी, कहिले नारायणी, कहिले थेम्स नदी, अहिले मनहरा अनि धोबी खोला । मैले जिन्दगानीमा पहिलो पल्ट डुम्रेमा यात्रु बस देख्दा दश वर्षको थिएँ भन्ने कुरा सुनाउँदा आर्भिन आर्भिना पत्याउँदै पत्याउँदैनन् । पत्याउन पनि कसरी, अहिलेको पुस्ताले । लमजुङको बाहुन डाँडामा जन्मेको म, तल गहिरोमा मर्स्याङ्दी को पानी सुसाएको प्रस्ट सुन्दथे । अझ बेसी सहर निर धुबिचौर मामा घरको आँगन डिलैमा बगेको मर्स्याङ्दीको आवाजले कति रोमाञ्चित गराउँथ्यो कुरै नगरौँ । मर्स्याङ्दी डिलबाट बसाई सरेको हाम्रो परिवार नारायणीको छेउमा आएर रोकियो भरतपुरमा । भरतपुर नारायण घाट ओरालोको नहरमा नारायणीको निलो पानी बग्थ्यो उस बेला । त्यो नहरमा पौडी खेलेका दिनहरू कहिले नमेटिने गरी बसेका छन् सम्झनामा । चितवनमा जति गर्मी भयो उत्ति रमाइलो लाग्थ्यो मलाई । मस्तले पौडी खेल्न पाइने, अझ यती बेलाको गर्मीमा काँचो आँपलाई टुक्रा पारि नुन, खुर्सानी टिमुर पिसेर साँधेर आँपको बोट मुनि बसी जिब्रो पट्काई पट्काई मज्जाले खायो अनि १(२ घण्टा रुख मुनी सुत्यो, राति छतमा । साँझ जति गर्मी भए नि फुटबल त खेलिन्थ्यो खेलिन्थ्यो । धेरै कुरा छन् गर्नु पर्ने तर ती मध्ये एउटा कुराले यसपालि दिल छोयो जब म नेपाल सरकारले हिजो देखि आयोजना गरी रहेको सगरमाथा संवादको प्रि इभेन्टको कार्यक्रममा सहभागी हुन् साथ साथै संस्थाको आयोजनामा प्रजिता कार्की, बद्री सिग्देल, बालकृष्ण बस्नेत, सिर्जना पोख्रेल, विजय पौडेल, सुवास दर्नाल र कान्छा सगरमाथा आरोही तेम्बा छिरिङ शेर्पा सहितको हाम्रो प्यारो मज्जाको टोली सगरमाथाको थामेमा पुग्यो । यात्राले एकपल्ट बेसी सहर देखि बाहुन डाँडासम्मको पैदल यात्रा र मेरो बचपनको याद दिलायो अनि उस बेला र अहिले प्रकृतिमा आएको धेरै परिवर्तनको आभास पनि।
सगरमाथा सहितको हिमाललाई फेरि अझै नजिकबाट हेर्ने धोको त छदै थियो । अझ त्यसमाथि विशेष उद्देश्यले तय भएको यात्राले धेरै कुराको बोध गरायो। आफूले सानै देखि देखेको सुन्दर प्रकृतिको डरलाग्दो परिवर्तन र यसले जलवायु वातावरणमा पारेको प्रभावलाई धेरै नजिकबाट हेरियो । अनि धेरै चिन्ताले यात्रा भरि सताई रह्यो, छलफल हाम्रो जारी रह्यो । हुन त जन्मेदेखि देखेको मर्स्याङ्दी र पौडी खेल्दै हुर्केको नारायणी अनि दैनिक पार गरेको मनहरा, बागमती अनि धोबी खोलामा अहिलेसम्म आइपुग्दा धेरै परिवर्तन भएको छ । अहिले मर्स्याङ्दी र नारायणीमा पानी थोरै बगेको छ भने बागमती, मनहरा र धोबी खोलाले नाक थुनेर हिँड्नु पर्ने बनाएको छ । हामी जलवायु परिवर्तनको गम्भीर सङ्कटमा पुग्ने निश्चित छ । यसको असरहरू त देखिन थालेको छ । मात्र यती हो कि त्यो सङ्कटको प्रत्यक्ष साक्षी हामी हुने हो कि हाम्रा सन्तानहरू हेर्न बाँकी छ । अघिल्लो वर्ष अपर तामाकोसी र मुस्ताङसम्मको यात्रा गरियो । कहीँ कतै झरना खोलामा पानी थिएन । नदी बग्ने धारमा केवल बालुवा मात्रै देखिन्थ्यो। यसपालि सगरमाथाको थामेसम्मको यात्रा रामेछाप देखि सल्लेरी हुँदै लुक्ला मुन्तिरको सुर्केसम्म नक्सांकन गरेको बाटोबाट तय गरियो । हाम्रो यात्राका १८ सदस्यहरू ३ वटा बोलेरोमा कसरी पुगियो त्यो भावबाट मात्र व्यक्त गर्न सक्छु शब्दमा होइन । न त्यस्तो बाटो सुनिएको थियो न देखिएको । केवल एक पटक डोजर लगाएको बाटोमा गुडेका हामी सुर्के हुँदै नाम्चे बजार देखि थामेसम्म पुग्दा देखिएको जलवायु परिवर्तनको असरले मन नै कटक्क पोल्यो । दुध कोशीमा पानी आधा छ । छेउ छाउका झरना, खोलीहरू सुकिसकेका छन्, सुनसान छन् । जङ्गल उजाड अनि आँखा अगाडी बिहानै बेन्करबाट पहिलो पटक देखेको नजिकको हिमालमा हिउँ थिएन । हिउँले खाएको काला पत्थर मात्रै थियो ।
विश्व पृथ्वी दिवस २०२५ को दिन पारेर सगरमाथाको थामेमा आयोजना गरिएको कार्यक्रममा पुग्न हामीलाई ४ दिन लाग्यो । माननीय रक्षा मन्त्री, बन मन्त्री, कतारकी राजकुमारी आश्मा अल थानी, सगरमाथा आरोहण गरेर गिनिस रेकर्ड राख्ने मिंग्मा डेबिड शेर्पा लगायत स्थानीय सरकार, प्रदेश सरकारका प्रतिनिधि, थामेबसी , वातावरणविद् सहितको सहभागिता रहेको कार्यक्रममा म कानुन व्यवसायी र ल एसियाको प्रतिनिधिको हैसियतमा सहभागी थिए । सहयात्रीहरूसँगको हिँडाई रमाइलो र यादगार हुँदाहुँदै प्रकृतिको दोहन अनि जलवायु परिवर्तनले वातावरणमा ल्याएको असरलाई आँखा अगाडी हेर्दा मन धेरै बेखुसी थियो। तेन्जिङ नोर्गे शेर्पा जन्मेको ठाउँ थामे गाउँ । थामे गाउँले आजसम्म आइपुग्दा धेरै सन्तानहरू जन्माएको रहेछ । जसले सगरमाथा आरोहण गरेर धेरै प्रकारका विश्व रेकर्ड बनाएका रहेछन् । पोहोर सालको बाढीले सखाप बनाएको थामे गाउँ बर्सेनि बाढीको त्रासमा छ। तर थामे बासीहरू थामे छोड्न पटक्कै तयार छैनन् । हुन् पनि किन जुन गाउँमा पुर्खाको इतिहास बसेको छ छोड्नु किन ? कसको कारण ले छोड्ने ? को जबाफदेही हो यसको ? जलवायु परिवर्तनको कारण को हो ? त्यसको असरको कानूनि उपचार के छ ? काहा खोज्ने उपचार ? यी प्रश्नको चित्त बुझ्दो उत्तर खोज्नु पर्ने समय आएको छ । किनकि उनीहरूको एउटा महत्त्वपूर्ण प्रश्न छ के अरू राष्ट्रहरूले पारेको जलवायु प्रभावबाट हामी किन पीडित हुने ?हामी किन विस्थापित हुने ?
उस बेला नेपालमा र भारतमा कानुनको विद्यार्थी हुँदा पढेका र सुनेका वातावरण सम्बन्धीका मुद्दाहरू सम्झनामा आयो । नेपालमै हाम्रो सर्वोच्च अदालतले विकास गरेको वातावरण विधि शास्त्रको चर्चा नेपालमा मात्रै होइन संसारभरि चलेको पाइन्छ । गोदावरी मर्बल्स, चितवन मेडिकल कलेज लगायतका मुद्दाहरूले उस बेला सरकारलाई ठेगान लगाएकै हो । अहिले पनि धेरै मुद्दाहरूमा सर्वोच्च अदालतको भूमिका प्रशंसनीय नै छ । म पुना मा पढ्दा धेरै पढेको मुद्दाहरू भनेको आर सी मेहताको गङ्गाको दूषित पानी सम्बन्धी मुद्दा, आर सी मेहता कै भोपाल ग्यास ( युनियन कार्बाइड) को मुद्दा, भेलोर नागरिक विकास फोरमको मुद्दा जसमा विकास र वातावरण सम्बन्धी विधि शास्त्र नै सर्वोच्च अदालतले लेखेको छ । आन्ध्र प्रदेश प्रदूषण नियन्त्रण बोर्डको मुद्दा जसमा वातावरण संरक्षणको सर्त सहित उद्योगको अनुमति पत्र दिने र वातावरण प्रदूषित गर्नेले क्षतिपूर्ती तिर्नु पर्ने सिद्धान्त प्रतिपादन गरेको मुद्दाहरू पढियो । यी मुद्दाहरू वातावरण संरक्षणमा कोशेढुंगा साबित भएका छन् भने यी पछाडि पनि धेरै मुद्दाहरूमा अदालतहरूले अग्रगामी फैसला गरेको कानुन पत्रिकामा पढ्न पाइन्छ ।
अब जलवायु न्यायमा केही उल्लेखनीय कदम भने चाल्नु पर्ने नै देखिन्छ। जलवायु परिवर्तनले पारेको प्रभावका बारेमा अब केही अनुसन्धानको निचोड चाहिँदैन । यो स्वयं प्रमाणित कुरा हो कि हामी जलवायु परिवर्तनको असर भित्र परिसकेका छौँ । हाम्रो वातावरण गम्भीर रूपले बिग्रिँदै गइरहेको छ । जुन नाङ्गो आँखाले पनि प्रस्टै देखिन्छ । कुनै सरकारी कार्यालयको प्रमाणित कागज, उत्तर वा प्रतिवेदन कुरिरहनु पर्दैन । वातावरणको खुल्ला दोहन न्यायमूर्तिको खुल्ला आँखाले देख्न मिल्दैन ? न्यायमूर्तिले देख्छ भने ठाउँको ठाउँ रोक्ने हिम्मत राख्न सक्नु पर्छ । आदेश दिन सक्ने क्षमता न्यायमूर्तिमा हुनु पर्दछ । एउटा न्यायमूर्ति प्रकृति दोहन भएको पीडादायी दृश्यको साक्षी हुनु र अदालतमा निवेदन आउँछ अनि बोल्छु भनेर कुरेर बस्नु वातावरणलाई थप हानि पुर्याउनु हो । अहिले हामी स्वच्छ वातावरणको मात्र कुरा गरिरहेका छैनौ जलवायु परिवर्तनले पारेको असर र जलवायु न्यायको पनि कुरा गर्दै छौ । केही हप्ता अगाडी काठमान्डु लगायत नेपालका धेरै क्षेत्र जलवायु परिवर्तनको गम्भीर सङ्कटमा थियो । घाम र खुल्ला आकाश नदेखेको दुई हप्ता नाघिसकेको थियो । केही स्कुलहरू बन्द थिए, केही बन्द गर्ने अवस्थामा थिए । भाइरलको असर यस्तो थियो कि १५ दिन थला पर्नु पर्थ्यो। रुघा खोकी र ज्वरोको प्रभाव सवैमा थियो, । लाग्थ्यो कोभिडको तेस्रो राउन्ड सुरु भयो । घरमा र छिमेकमा बाबु नानी बिरामी परेका, केही स्कुल बन्द भएका, सयौँ ठाउँमा डढेलो लागेको र यसको धुवाँले वातावरण प्रदूषण चरम विन्दुमा पुगेको तर यति हुँदा पनि सरकारको प्रभावकारी कदम नदेखेपछि मनै मानेन अनि अन्तरिम राहतका लागि करिब ४/५ दिन लगाएर अध्ययन अनुसन्धान गरी सार्वजनिक सरोकारको विषय अन्तर्गत रिट दर्ता गर्न लगेँ । रिट दर्ता गर्ने अधिकारीले रिटको बारेमा सोधेपछि मैले सारमा बताए, उहाँ सुनेर हाँस्नु भो । मेरो जवाफ थ्यो, सर हामीले वातावरणको विषयलाई सधैँ भरि यसरी नै हाँसेर उडाइयो अब तपाई हाम्रा सन्तानहरू रुनेछन्, एक पटक पुरा पढ्नुस् अनि भन्नुस् । उहाँ चुप लागेर पुरा पढ्नु भो अनि भन्नु भो सर तपाईँले लेखेको रिट गम्भीर र सान्दर्भिक रहेछ अब अहिले ३ बजिसक्यो भोलि आउनु होला माथि सल्लाह गरेपछि दर्ता हुने नहुने भनुँला । त्यही दिन रातभरि पानी पर्यो आकाश खुल्यो । मनमा लाग्यो कि अब रिट दर्ता हुन्न होला किनकि हाम्रो वातावरणको संरक्षक हामी होइन पशुपति नाथले गर्छन्। शिवजीले पानी पार्नु भो, आकाश खोल्नु भो, धेरै ठाउँ को डढेलो रोक्नु भो । भोलि पल्ट दिउँसो सर्वोच्च गए, जे सोचेको थिए त्यही भएछ । रिट दरपिठ गर्ने निर्णय भएछ । लेख्न त अर्कै लेखियो तर कारण चैँ अधिकारीले भन्नु भयो राति पानी परेको परेई…. म रिट निवेदक हेरेको हेरेइ….
मैले माथि नै भनिसके वातावरणमा हाम्रो अदालतले खेलेको भूमिका कागजी रूपमा उल्लेखनीय छ । तर जबसम्म अदालत स्वयम आफ्ना फैसलाहरूको कार्यान्वयनको अनुगमन गर्दैन तबसम्म कागजी फैसलाहरूले वातावरण जोगाउन सकिन्न । वातावरणका हरेक विषयमा फैसलाहरू उल्लेखनीय छन् तर ती कहाँ छन् ? अदालतले फैसला मात्र गर्ने हुँदै होइन । आफूले गरेको फैसलाको कार्यान्वयनको अनुगमन पनि गर्नै पर्छ । मलाई सर्वोच्च अदालतका ती अधिकारीले भनेकै हुन् सरोज सर तपाईँको रिटको विषय गम्भीर छ तर के गर्नु हाम्रो मा यस्ता फैसलाका धेरै चाङहरू छन्, जुन कार्यान्वयन हुन सकेका नै छैनन् । चाङ लाउने फैसलाले विधि शास्त्रलाई अपाङ्ग बनाउँछ । न्यायमूर्तिलाई लाग्ला मैले गज्जबको फैसला गरे अनि हामी कानून व्यवसायी पनि राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मेलनहरूमा न्यायमूर्तिको नाम बार बार उच्चारण गरी खुलेर प्रशंसा गर्छौँ आफ्नो प्रस्तुतिमा । तर वास्तविकतामा कति फैसला अपाङ्ग भएर बसेका छन् त्यसको लेखा जोखा कसले गर्ने ? वातावरणका मुद्दालाई अदालतले प्राथमिकतामा सुनुवाइको लागि मात्र होइन प्रभावकारी कार्यान्वयनको लागि राखेन भने वातावरणको प्रभावले न्यायपालिका र यसका खम्बाहरूलाई नि छोड्ने छैन । हिमालमा हिउँ पग्लेर कालो पत्थर देखिए झैँ अपाङ्ग फैसलाहरूलाई न्यायपालिका कत्तिको सक्षम रहेछ र कार्यपालिकाको बेवास्ताबाट कति पर रहेछ थाहा हुन्छ । अबको समय वातावरण मात्र होइन जलवायुका असरले पारेको अन्यायलाई लड्ने समय हो, जलवायु न्याय को हो । हाम्रा कारणले मात्र हामी अहिलेको अवस्थामा आएको पक्कै होइन । यसमा विकसित र औद्योगिक राष्ट्रहरूको कारण छ । हामी काठमान्डुलाई संसारको प्रदूषित सहरको रूपमा चिनाउन हाम्रो मात्र हात होइन ठुला अनि औद्योगिक राष्ट्रहरूको पनि उति कै हात छ । हाम्रो हिमताल फुटेमा हाम्मलाई मात्र होइन संसारलाई असर पुग्ने छ । तर यो वातावरणले पारेको अन्यायबाट न्याय कहिले खोज्ने ? कोसँग खोज्ने ? कति खोज्ने ? यसको अब चर्चा छलफल हुनु पर्ने छ । हाम्रो न्यायपालिका सक्षम, उत्तरदायी अनि कार्यपालिकालाई ठेगान लाउन सक्ने चाहिएको छ । पछि पछि हिँड्ने चुप लाग्ने अनि सहने होइन ।
सगरमाथाको थामेमा साथ साथै संस्थाले आयोजना गरेको आरोही सम्मेलन र जलवायु संवादको घोषणा पत्रलाई अस्ति सम्माननीय प्रधानमन्त्री के पी शर्मा ओलीलाई संस्थाकी नेत्री प्रजिता कार्कीले हामी सँगैको सहभागितामा बुझाएकी छिन । सम्माननीय प्रधानमन्त्री ज्यु ले प्रतिवेदन बुझ्दै हिमालको फेदमा पुगेर सम्पन्न भएको कार्यक्रमको खुलेरै प्रशंसा गर्नु भयो । सोही दिन गोपाल कृष्ण सिवाकोटी दाइको पुस्तक कम्लाइमेट कालामीटि समेत प्रधानमन्त्री कै समुपस्थितमा प्रधानमन्त्री निवासमा विमोचन समेत भयो । हिजो देखि नेपाल सरकारले आयोजना गरेको ३ दिने सगरमाथा संवाद बेजोडले काठमान्डुमा चल्दै छ । जलवायु परिवर्तन र जलवायु न्यायमा गम्भीर छलफल हुँदै छ रे । यो सम्मेलन मार्फत नेपाल ले जलवायु परिवर्तन र यसले हामीलाई परेको असरका बारेमा संसारभर पुर्याउनु पर्ने छ अनि यसको असरको क्षति लिन कुनै कसर छोड्नु हुन्न भन्ने बारेमा हाम्रो तयारी रहेको सुनेको छु। तर विश्व समुदायलाई आग्रह मात्र गरेर पुग्दैन साझा प्रयासका लागि र नेगोसियसनका लागि सक्षम प्रतिनिधिहरू सरकारले खोज्नु पर्ने छ । जलवायु न्यायलाई सामान्य रूपमा सरकारले लिएर कार्यकर्ता मात्र भर्ती गर्ने हो भने ठुलो मूल्य चुकाउनु पर्ने छ ।
थामेमा गएर जलवायु परिवर्तनको असरको ठुलो संसार भित्र सानो कुराहरू मात्र बुझ्न पाइयो । अहिले नै केही गरिएन भने एउटा कुरा पक्का छ हाम्रो सन्तानहरूको जीवन सहज हुने वाला छैन । हामीलाई हाम्रा नदीहरू पानीले भरिएको चाहिएको छ, हाम्रा झरनाहरूमा पानीको निरन्तरता चाहिएको छ, हामीलाई हाम्रो हिमाल सेतो चाहिएको छ, निलो आकाश सहित क्षितिजसम्म देखिने पहाडहरूको सुन्दर दृश्य हेर्न हामीलाई चाहिएको छ, हामीलाई हाम्रो इनारको चिसो पानी चाहिएको छ, नाङ्गो पहाड होइन हरियाली पहाड चाहिएको छ, जङ्गल चाहिएको छ, पौडी खेल्ने नहर, कुलो चाहिएको छ । अनि स्वच्छ वातावरणमा बाँच्न पाउने हकको ग्यारेन्टी चाहिएको छ ।
काठमान्डुमा संसार भरिका वातावरणविदहरु सगरमाथा संवाद २०२५ का लागि आएका बुझिएको छ । नेपाल सरकारले ती प्रतिनिधिहरूलाई हिमाल छेउ पुर्याएर देखाउन सक्यो भने ती प्रतिनिधिहरूले बुझ्ने छन् जलवायु परिवर्तनको असर कस्तो रहेछ भन्ने । आखिर जलवायु परिवर्तनको असर यिनै पहाडबाट बगेर नै तराईमा पुग्ने हो, समुद्रमा पुग्ने हो । हाम्रा हिमाल नंग्गीने भनेको उनीहरू बसाई उजाडिने हो । अब एउटा साझा सङ्कल्प गर्नु पर्ने छ हाम्रो लागि मात्र होइन, हाम्रो सन्ततिको लागि अनि जलवायु न्यायको लागि ।
लुक्लाबाट रामेछाप हुँदै काठमान्डु फर्कँदा प्रजीता , बद्री सिग्देल जी, विजय पौडेल जी, बालकृष्ण बस्नेत जी, सृजना पोख्रेल सिवाकोटी जी सुवास दर्नाल जी अनि हाम्रो टोलीका साथीहरू बाटो भरी बचपनको याद गरियो । कुखुरी काँ बासी भात खाँ देखि कान्छीलाई घुमाउने काठमान्डु गीतमा रमियो । उस बेलाको समय अनि स्वच्छ वातावरणको एक छिन कुरा गरेर भने नि अहिलेको वातावरण बिर्सिन खोजेकोका सकियो र । फर्किदा झन् पोहोर सालको जलवायु परिवर्तनको गहिरो असर खुर्कोट देखि मुलकोट, नेपालथोक, रोशी खोला, मंगलटार हुँदै बनेपासम्म आइपुग्दा फेरि पीडा दियो । अनि छुटिदा एउटा सङ्कल्प गरियो कि अबको वर्ष जलवायु परिवर्तन र न्यायको लागि हामी दृढ भएर लाग्ने छौ, लागि रहने छौँ ।