महिलालाईसमेत बलत्कार र बहुविवाहको मुद्दा लाग्ने गरी कानूनी व्यवस्था हुँदै, अब बालविवाहमा उमेर अनुसारको सजाय प्रस्ताव

काठमाडौं । सरकारले महिलालाई समेत बलत्कार र बहुविवाहको मुद्दा लाग्ने गरी कानूनी व्यवस्था गर्दै छ । मुलुकी अपराध संहिता संशोधन गरेर महिलालाई समेत पुरुषकै सरह कानून लाग्ने व्यवस्था गर्न लागेको हो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले महिलालाई पनि बलात्कार र बहुविवाहको मुद्दा लाग्नेलगायत व्यवस्था राखेर मुलुकी अपराध संहिता संशोधनको प्रस्ताव तयार पारेको छ। यसअघि पुरुषको हकमा मात्रै तोकिएको सजाय हुने भएपनि अब भने महिलाको हकमा पनि लागू हुने गरी मन्त्रालयले संहिता संशोधनको मस्यौदा तयार पारेको हो ।

मन्त्रालयले मुलुकी अपराध (पहिलो संशोधन) संहिता, २०८२ तयार गरी सर्वसाधारणको रायसमेत मागेको छ । जसमा बलात्कारको व्यवस्था रहेको दफा २१९ लाई नै प्रतिस्थापन गर्ने प्रस्ताव छ । हाल बलात्कारको परिभाषामा ‘कुनै महिलालाई’ भन्ने व्यवस्था राखिएकोमा अब ‘कुनै व्यक्तिलाई’ भन्ने शब्द थपिएको छ । यसको अर्थ पुरुषमाथि बलात्कार गरेको अभियोग महिलामाथि पनि लाग्न सक्छ ।

बहुविवाह गर्न नहुने दफामा पनि संशोधन प्रस्ताव गरिएको छ । यो व्यवस्थामा विवाहित पुरुष भन्ने ठाउँमा ‘विवाहित व्यक्ति’ले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न नहुने उल्लेख छ । यसको अर्थ महिलाले पनि कुनै पुरुषसँग वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गरे बहुविवाहको अभियोग लाग्न सक्छ ।

मन्त्रायले गरेको प्रस्तावमा वैवाहिक बलात्कारको सजाय घटाउने, पाँच वर्ष कैदको व्यवस्था रहेकोमा तीन वर्ष कायम गर्ने उल्लेख छ । पीडित तथा प्रतिवादी दुवै नाबालक भएमा निजहरूबीचको उमेरअन्तर तीन वर्ष वा सोभन्दा कम भएमा सहमतिमै करणी भए पनि तीन वर्षसम्म सजायको प्रस्ताव गरिएको छ ।

१६ वर्षदेखि २० वर्षसम्मकाले विवाह गरे अलग–अलग बस्नुपर्ने, महिलाको मञ्जुरीमा जुनसुकै बला पनि गर्भपतन गर्न पाउने, बारम्बार पिछा गर्ने तथा हैरानी दिने कार्य (स्टकिङ) पनि अपराध हुने गरी कानूनी व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज