काठमाडौं । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा अध्यक्ष र सदस्य पदका लागि ११० जनाले आवेदन दिएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गत गठन गरिएको सिफारिस समितिका अनुसार व्यक्तिगत तर्फबाट ८० र संस्थागत तर्फबाट ३० आवेदन प्राप्त भएका हुन्।
सिफारिस समितिले प्राप्त आवेदनहरू आज सार्वजनिक गर्ने तयारी गरेको छ। समितिका अनुसार सम्पूर्ण आवेदन विवरणहरू मन्त्रालयको वेबसाइटमा सोमबार प्रकाशित गरिनेछन्।
समितिले दुवै आयोगका अध्यक्ष तथा सदस्य पदका लागि इच्छुक व्यक्तिहरूलाई १० दिनभित्र आवेदन दिन आह्वान गरेको थियो। सोही अनुरूप आवेदन दिने अन्तिम म्याद आइतबारसम्म कायम गरिएको थियो।
सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ अनुसार दुवै आयोगमा अध्यक्षसहित पाँच–पाँच सदस्य रहने व्यवस्था छ। सोही अनुसार नियुक्तिका लागि प्रक्रिया अघि बढाइएको हो।
प्राप्त आवेदनहरू सिफारिस समितिले अध्ययन गरी आवश्यक मापदण्ड पूरा गरेका योग्य उम्मेदवारहरूको सर्टलिस्ट तयार गर्नेछ।
गत चैत ११ गते बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खाती, पूर्वराजदूत डा. अर्जुनकुमार कार्की, अधिकारकर्मी स्टेला तामाङ, र मानव अधिकार आयोगकी प्रतिनिधि डा. लिली थापा सदस्य रहने गरी पाँच सदस्यीय सिफारिस समिति (सर्च कमिटी) गठन गरेको थियो।