लोकतन्त्र, स्वतन्त्र न्यायपालिका, कानुनको शासन, मानव अधिकारका मूलभूत विषयमा नेपाल बार र यसका सदस्यले खेलेको युगान्तकारी भूमिकालाई मेरो यी शब्दहरूले समेट्न सक्दैन । संविधान भित्र अटेको नेपाल बार एसोसिएसन र अधिवक्ता, वरिष्ठ अधिवक्ता जस्ता शब्दहरूले कानुन व्यवसायीको दायित्व, महत्त्व अनि भूमिकालाई कति ओजिलो बनाएको छ भन्ने कुरा आफैमा गर्वको कुरा हो । त्यसैले म अधिवक्ता हुँ र मेरो संस्था नेपाल बार एसोसिएसन हो भन्ने कुरा संसारका धेरै देशहरूमा मैले वक्ताको रूपमा सभा सम्मेलनमा बोल्दा छाती गर्वले फुलेर आउँछ । तर जब हामी आफैलाई निहाल्छौँ त्यो ओजमा छाया परेको महसुस हुन्छ । किन ?
मैले नजिकबाट आई वि ए र ल एसियाको नेतृत्वलाई हेरेको छु अनि नजिकबाट चिनेको छु । अहिले नेतृत्व गर्नेहरू अनि दुवै संस्थाका आगामी नेतृत्वसँग मेरो व्यक्तिगत सम्बन्ध छ । उनीहरूले नेतृत्वको चयन कुन आधारमा गर्छन् भन्ने कुरा आई बी ए को नेतृत्वका लागि मेक्सिकोमा मतदान दिँदा होस वा ल एसियामा मतदान दिँदा होस नजिकबाट अनुभव लिएको छु । अनि मतदान समेत गरेको छु । दुवै संस्थाका नेतृत्वको चुनावका लागि ।
ती नेतृत्व चयनमा नजिकबाट साझेदार हुँदा खुसी लाग्छ तर जब म मेरो कर्म क्षेत्रमा फर्केर आउँछु अनि हेर्छु कसरी हामीले नेतृत्व चयन गर्छौ कसरी नेपाल बारका पूरा कार्यसमितिका लागि उम्मेदवार चयन गरिन्छ त्यो हेर्दा दिक्दार लाग्छ । हाम्रा सबै खाले आन्तरिक सङ्गठनहरूले एकाध बाहेक बाँकी अवसर कसलाई दिए ? कसले पाए ? पाउनेले के गरे ? सकेकी सकेनन् ? कसले जबाफ दिने ? प्रश्न आउँछ किन हाम्रो बारमा नेतृत्व दिँदा हामी स्वार्थी हुन्छौ ? किन कानुन व्यवसायीको भलाइ भन्दा आफ्नो नजिकका व्यवसायीलाई अवसर दिने संस्थाको रूपमा बारलाई खल्तीको संस्था जस्तो ठान्छौँ ? के अब नि हामी यस्तै प्रक्रियामा चित्त बुझाउने हो ?
अब जरुरी भएको छ हाम्रो नेतृत्व चयन त्यस्तो हुनु पर्छ जसले बार लाई हाँक्न सकोस् । अनि गुमेको बारको प्रतिष्ठालाई फेरि एक पटक उचाइमा पुर्याओस । नेतृत्वमा जो आए नि हामीले चुनावी प्रक्रियामा सामेल हुनु छ भोट हाल्नु छ। तर अब हामीले भोट हाल्नेको परीक्षा पनि गर्नु छ ।
ने बा ए को बढ्दो अन्तर्राष्ट्रिय पहिचानको निरन्तरतामा विचार गर्ने की ?
अघिल्लो हप्ता ल एसियाको आयोजनामा नेपाल बार एसोसिएसनले आतिथ्यता गरेको ५औँ अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन २०२५ को ऐतिहासिक सफलताले नेपाल बार एसोसिएसनको महिमालाई एसिया र एसिया प्रशान्त मात्र नभई संसार भर पुर्याएको छ । सम्मेलनको घोषणा पत्र अन्तर्राष्ट्रियकरण भए सँगै संसारका धेरै बार एसोसिएसन ल सोसाइटीहरूबाट हामीलाई सकारात्मक प्रतिक्रिया, सहयोगको भावना अनि प्रशंसा मिलेको छ । अन्य देशका बार एसोसिएसन र ल सोसाइटीहरूले सहकार्य गर्न इच्छा जाहेर गरेका छन् । अहिले संसार भरीका बार एसोसिएसनले ल सोसाइटी र हामी नेपाली कानुन व्यवसायी र हाम्रो बारलाई नजिकबाट हेरेका छन् अनि पढेका छन्। अबको बारले त्यो निरन्तरता दिन सकेन भने धेरै कानुन व्यवसायिहरुको क्यारियर सम्भावनामा गम्भीर असर पुग्ने हुँदा छनौट समितिलाई उम्मेदवार छनौट सही ढङ्गले गर्न सकेन भने एक दिन त्यसको जवाफ दिनु पर्ने छ ।
नेपाल बार र आगामी कार्यसमितिको चुनाव सन्दर्भ
आजकाल दिनहुँ मलाई कानुन व्यवसायी मित्रहरू र मेरा अग्रजले सोध्ने गरेको प्रश्न भनेको सरोज के तिमी अबको नेपाल बारको चुनावमा उठ्ने विचार गरेका छौ ? अनि मेरो छु भन्ने उत्तरमा प्रति प्रश्न आउने गर्छ, तिमी कसको मान्छे हौ ? तिमीलाई छनौट समितिका कसैले बनाउने जिम्मा लिएको छ भने अगाडि बढे हुन्छ नत्र आफ्नो व्यावसायिक काममा लागे हुन्छ । तिमी कसको फर्ममा काम गर्छौ ? यस्तै यस्तै धेरै प्रश्नहरू आउने गर्छन् । मेरो उत्तर हुन्छ, यदि कोही साँच्चै नै अबको बारलाई व्यावसायिक बनाउने प्रण गरेर नेतृत्व चयनको जिम्मा लिएको छ भने म उहाँहरूको हो । जसलाई डी एल ए ले छनौट गर्ने अभिभारा दिएको छ । होइन अबको नेतृत्व पनि पुरातन प्रक्रिया नै हो भने म जस्ता कयौँ कानुन व्यवसायीहरूले बार भित्र छिर्नु बेकार छ । बस बेकार ।
बार केका लागि ?
मैले माथि भनिसके संसारका अरू बारहरू कुशल नेतृत्व उत्पादन गर्ने संस्था हो । मैले व्यक्तिगत रूपमा कुरा गर्दा अनि हेर्दा ती बारहरूमा नेतृत्व दिँदा धेरै कुराहरू हेरिन्छ । व्यवसाय प्रतिको इमानदारिता, व्यवसायमा गरेको लगानी, कानुन व्यवसायीलाई व्यवसायमा गरेको सहयोग, निडर अनि निष्ठावान्, बारलाई उचाइमा पुर्याउन सक्ने ल्याकत, बारलाई पहिचान गराउन सक्ने सामर्थ्य, कानुन व्यवसायी बिच व्यावसायिक पहिचान, आत्मविश्वास अनि बारलाई बुझेको, न्यायपालिकासँग संवाद गर्न सक्ने, युवा कानुन व्यवसायीलाई अवसर खोज्न सक्ने, बारसँग अन्तर्राष्ट्रिय साझेदारी गर्न सक्ने, बारको विकासका लागि कति कति तत्त्वहरूसँग मेल खाने नेतृत्वको चयन के अन्य बारहरूको प्रभाव देखिन्छ ? हुन त कति पाठकहरूले यी लाइन पढ्दा आफूलाई भन्न खोजेको भन्नु होला तर एउटा कुरा के हो भने यी सबै क्षमताहरू मसँग मात्र होइन धेरै जनासँग हुँदैन । मसँग पनि छैन । तर मसँग एउटा कुरा पक्कै छ की मसँग आँट छ, कमिटमेन्ट छ अनि विश्वास छ । बाँकी कुरा त सिक्दै जाने हो त्यो सिक्ने चाहना र धैर्यता भने पक्कै छ ।
अबको बारमा मेरो उम्मेदवारी हो त ?
मलाई धेरै मित्रहरूले सोध्ने गरेको प्रश्न अबको बारमा तिमीले इच्छाएको पद के हो ? मैले इच्छाएको पद जाहेर गर्नु पहिले मेरा केही कुरा भन्न जरुरी छ । भन्न पाइएला नपाइएला । सन् २००९ मा बेलायतमा एल एल एम गरी फर्के पछि मैले नेपाल बारका हरेक गतिविधिमा नजिकबाट सहभागी भएको छु । चाहे त्यो वृत्ति विकास समितिमा बसेर होस चाहे अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सचिब, सह संयोजक, सर्वोच्च अदालत बारको कोषाध्यक्ष, स.अ.बा.ए को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सचिब, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको संयोजक, नेपाल बार काउन्सिलको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य आदि आदि । आजसम्म आइपुग्दा नेपाल बारले चाहे संविधान निर्माणका लागि सञ्चालन गरेको प्रशिक्षण होस या कानुन्नव्यवसायीका क्षमता अभिवृद्धिका लागि आयोजना गरिएका प्रशिक्षण हुन । कति वटा र कति जना कानुन व्यवसायीलाई प्रशिक्षित गराइयो त्यो नेपाल बारको आर्काईभमा होला मैले एकिन साथ भन्न सक्दिन। नेपाल बार र डी एल ए पाइपरद्वारा सञ्चालित महिला कानुन व्यवसायीको ८ औँ पटक सम्म प्रशिक्षणको संयोजक र प्रशिक्षकको रूपमा सहयोग गरियो यो कार्यक्रम अमेरिकाका विभिन्न कानुन पत्रिका र आई वि एको प्रतिवेदनमा समेत प्रकाशित छन् । बारका सम्मेलन र महाधिवेशनमा कार्य पत्र प्रश्तुति साथै नेपाल बार र सर्चोच अदालत बारका जर्नलहरुमा धेरै लेख लेखियो सम्पादक पनि भइयो भने नेपाल बारको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्नमा सामान्य भुमिका खेलेको कुरा लेख्दा बयान गरेको नठरिएला । आजसम्म व्यवसायमा आइपुग्दा धेरै युवा कानुन व्यवसायीलाई रोजगारी दिनुका साथै अन्तर्राष्ट्रिय ल फर्महरुमा सिफारिस गर्ने, छात्रवृत्तिका लागि गरेका सिफारिसले अध्ययन सुविधा पाएका कुराहरू निरन्तर सहयोगका कुराहरू हुन ।
हिजो सर्वोच्च अदालत बार एसोसिएसनको कार्यसमितिमा हुँदा हाम्रो कार्यसमितिले गरेका प्रान्तीय र राष्ट्रिय सम्मेलनहरू र ल एसियाको दोस्रो मानव अधिकार सम्मेलन (जुन कोभिड १९ का कारण स्थगित भयो) केही नाम लिन सकिने कामहरू हाम्रो समितिले गरेका थिए र अहिले त्यसैको जग मा ५औँ ल एसिया अन्तर्राष्ट्रिय सम्मेलन ऐतिहासिक सफल गर्न नेपाल बार एसोसिएसनले सक्यो । यी कार्यक्रमका लागि केही न केही भूमिका निर्वाह गरेको कुरा मैले भनी रहन नपर्ला । नेपाल बार एसोसिएसनको नेपालगन्जको महाधिवेशनलाई होस या ल एसियाको सम्मेलनलाई होस आर्थिक स्रोत जुटाउन गरेको सहयोगको नाम लिँदा आडम्बर गरेको नठहर्ला । आज म मेरो उम्मेदवारीलाई यिनै पृष्ठभूमिबाट व्यक्त गर्न मलाई कुनै हिच्किचाहट छैन् ।
यही सानो पृष्ठभूमिमा अबको नेपाल बार एसोसिएसनको चुनावमा महासचिवको पदमा उम्मेदवार हुने सोच र सुझावको आडमा सहयोगको अपेक्षा गरेको छु । हुन त महासचिव पदमा धेरै काबिल वरिष्ठ अधिवक्ताहरू र अधिवक्ता मित्रहरूको इच्छा सुनेको छु । जसले इच्छा राख्नु भएको छ म उहाँहरु को सम्मान गर्दछु किनकि बारलाई ३ वर्ष खर्चिने योजना गर्नु चाने चुने कुरो होइन । तर कसलाई यो जिम्मेवारी दिने भन्ने कुरा नेतृत्व चयन गर्ने को हात मा छ ।
के मेरो कोही छैन ?
मलाई धेरै जनाले भन्नु हुन्छ सरोज तिम्रो को छ ? मेरो जबाफ हुने गर्दछ मेरो लागि छनौट समिति छ जो उम्मेदवारी चयन गर्दा बार र कानुन व्यवसायमा गरेको लगानीलाई मूल्याङ्कन गर्ने सङ्कल्प लिएको छ । मेरो लागि वरिष्ठ अधिवक्ताहरू हुनु हुन्छ जो मलाई माया, सद्भाव र उत्प्रेरणा गर्नु हुन्छ, मेरो मित्रहरू हुनु हुन्छ जो मलाई प्रोत्साहन गर्नु हुन्छ अनि मेरा अनुज कानुन व्यवसायीहरू हुनुहुन्छ जो म बारमा आए भने केही न केही नयाँ आयाम र युवा कानुन व्यवसायिहरुलाई अवसर खोज्न तल्लीन हुन्छ जस्तो लाग्दछ अनि म भित्र त्यो जुनुनले घोची रहन्छ पोली रहन्छ ।
ल एसिया कार्य समितिमा मेरो स्थानको उपलब्धि र बार एसोसिएसनमा मैले खेल्ने भूमिका
नेपाल बार एसोसिएसनको ल एसियासँगको आबद्धताको ५० वर्षको इतिहासमा म दोस्रो नेपाली कानुन व्यवसायी हुँ । जो कार्यसमितिमा छु । गत वर्ष मलेसियामा सम्पन्न कार्यसमितिको निर्वाचनमा राम्रो मत ल्याई विजयी भए पश्चात् अन्तर्राष्ट्रिय जगतमा नेपाल बार र कानुन व्यवसायी लाई चिनाउन थोरै भने पनि सहयोग गरेको छु भन्ने लाग्दछ। एसिया र एसिया प्रशान्त क्षेत्रका बार एसोसिएसनका नेतृत्वहरुले मतदान गरी विजयी बनाएको घटना नेपाली कानुन व्यवसायीको लागि कम गौरवको कुरा होइन । अब नेपाल बारलाई झन् विश्व सामु चिनाउनु छ, अनि नेपाली कानुन व्यवसायीलाई कुनै न कुनै हिसाबबाट विश्व परिवेशको व्यवसायमा अवसर खोज्नु एकातिर छ भने नेपाल मै आफ्नो व्यवसाय समृद्ध गर्न चाहनेलाई हौसला दिनु छ अनि प्रशिक्षित गरी क्षमता वान बनाउनु छ। नेपाल बारका युनिटहरूलाई प्रविधि विकास र बारको विकासमा सहयोग गर्नु छ भने उहाँहरूको नेतृत्वको विकास गर्नु छ । अनि न्यायपालिकाको स्वतन्त्रता र भ्रष्टाचार विहीन न्यायपालिकाका लागि लड्नु छ अनि कानुन व्यवसायलाई बिचौलियाहरूको प्रभावबाट पर राख्नु छ। पेसालाई निर्भीक र सम्मानित बनाउनु छ ।
मैले कानुन व्यवसायीको पारिवारिक वातावरण, कानुन व्यवसायी परिवार भन्दा बाहिरबाट आएर कानुन अध्ययन गर्न अनि व्यवसाय गर्नेहरूको समस्या अनि महिला कानुन व्यवसायीका व्यावसायिक समस्याहरू लागि नजिकबाट देखेको छु भोगेको छु । मैले अग्रज कानुन व्यवसायीले कानुन व्यवसायलाई यो उचाइमा पुर्याएको योगदानलाई देखेको अनि सुनेको छु। नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसन, ल एसिया र आई वि एका समिति र गतिविधिमा प्रत्यक्ष सहभागी भई व्यवसायको नयाँ आयाम र बारले खेल्ने भूमिकाको बारेमा थोरै भए नि बुझेको छु अनि मलाई अलिकति भने नि के थाहा छ भने अब बारलाई कहाँ पुर्याउने हो ? अबको बारले गम्भीर आर्थिक सङ्कट व्यहोर्ने कुरा देखिन्छ । सदस्यताबाट मात्र चल्ने बार र अन्य सङ्घ संस्थाको सहयोगले गर्ने कार्यक्रममा अब केही समय रोकिने अवस्था देखिन्छ । यो अवस्थाबाट बार गुज्रिन नदिन वैकल्पिक उपाय के हो भन्ने कुरा धेरै सोच्ने गरेको छु ।
म के कुरा को विश्वास गर्दछु भने मैले आस्था राख्ने नेपाल प्रजातान्त्रिक कानुन व्यवसायी सङ्घले अबको बारको लागि आफ्नो तर्फबाट नेतृत्व चयन गर्दा गम्भीर हुने छ । सङ्घ गुटमा विभाजित भएको देख्न सकिन्छ तर नेतृत्व चयन गर्दा गुट भित्रबाट नभई समग्र कानुन व्यवसायीलाई सेवा दिन सक्ने व्यक्तिको चयन गर्ने छ । अबको चयन पनि खल्तीबाट निकालेर ३ वर्ष सम्म बारलाई अपाङ्ग बनाउने हो भने साँच्चै नै बार लाई केही गर्नेहरू हतोत्साहित हुनेछन् अनि आफूलाई बारबाट धेरै पर राख्ने छन् । यो केवल सुझाव मात्र हो विचार समयमै गर्नु पर्ने छ ।