बैंकिङ कर्मचारीमाथि भएको आक्रमणको सीईओ संगठनद्वारा कडा विरोध, दोषीमाथि तत्काल कारबाहीको माग

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूको साझा संगठनले ज्योति विकास बैंक लिमिटेडका कर्मचारीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै दोषीहरूमाथि तत्काल र कडा कारबाही गर्न माग गरेको छ।

संगठनका अनुसार ऋणी पक्षसँग कर्जाको किस्ता नियमित गर्ने विषयमा छलफल गर्न गएका बैंकका कर्मचारीहरूलाई नियन्त्रणमा लिएर दुव्र्यवहार र आक्रमण गरिएको घटना अत्यन्तै निन्दनीय र आपराधिक प्रकृतिको हो। रुपनी शाखासँग सम्बन्धित सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा.लि.का सञ्चालकहरूले योजनाबद्ध रूपमा बैंकका क्षेत्रीय कार्यालय बर्दिबासका कर्मचारीहरूमाथि आक्रमण गरेको भन्दै संगठनले बैंकिङ क्षेत्रको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।

संगठनले बैंक तथा वित्तीय संस्थाहरू नियामक निकायका नीति–निर्देशन र प्रचलित कानुनको पालना गर्दै निक्षेप संकलन, कर्जा प्रवाह तथा वित्तीय सेवा प्रदानमा संलग्न रहँदै देशको आर्थिक विकासमा योगदान दिँदै आएको उल्लेख गरेको छ। तर पछिल्लो समय बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीहरू विभिन्न प्रकारका अराजक र हिंसात्मक गतिविधिको निशानामा पर्दै गएकोप्रति संगठनले चिन्ता व्यक्त गरेको छ।

कानुनी प्रक्रियाबाट समस्या समाधान गर्न सकिने अवस्थामा कानुन आफ्नै हातमा लिने प्रवृत्ति अस्वीकार्य भएको भन्दै संगठनले कर्मचारीको ज्यानै जोखिममा पार्ने किसिमका गतिविधिलाई गम्भीर अपराधको संज्ञा दिएको छ। घटना भएको दिनमै सम्बन्धित निकायलाई जानकारी गराइए पनि तत्काल प्रभावकारी कदम नचालिनु र जाहेरी दर्तामा ढिलाइ हुनु खेदजनक भएको संगठनको भनाइ छ।

यस प्रकारका घटना पुनः नदोहोरिन दिन सुरक्षा निकायले स्वतःस्फूर्त रूपमा अनुसन्धान अघि बढाउनुपर्ने र संलग्न सबै दोषीलाई कानुनअनुसार तुरुन्त कारबाही गर्नुपर्ने संगठनले जोड दिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज