हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तार विवाद पुनः सर्वोच्च अदालतको गम्भीर ध्यानमा परेको छ। सडक विस्तारसम्बन्धी निर्णयविरुद्ध दायर रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले विगतका सबै मिसिल झिकाई अध्ययन गर्न आदेश जारी गरेको छ।
शुक्रबार सर्वोच्च अदालतको इजलास नम्बर २ मा बहस चलेपछि न्यायाधीश कुमार रेग्मी र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजलासले विगतमा भएका अदालतका आदेश तथा हाल विचाराधीन मुद्दासम्बन्धी कागजात माग गर्न निर्देशन दिएको हो। अब पुस २ गते तोकिएको अर्को पेसीअघि ती मिसिलका आधारमा थप छलफल हुने अदालतले जनाएको छ।
सडक विस्तारका निर्णयसँग असन्तुष्ट रास्वपा नेतृ तथा पूर्वसांसद विन्दवासिनी कंसकारसहित ६ जनाले डिभिजन सडक कार्यालय हेटौँडा र मकवानपुरका सम्बन्धित कार्यालयलाई विपक्षी बनाएर मंसिर १६ मा रिट दायर गरेका थिए। उक्त रिटमा मंसिर १९ गते सर्वोच्चले प्रथम चरणमा उत्प्रेषण आदेश दिएको थियो।
यसमाध्यमबाट सर्वोच्चले सडक विस्तार प्रक्रियासँग सम्बन्धित पक्षहरूले विगतका निर्णय र प्रक्रियालाई स्पष्ट गर्नुपर्ने अवस्था आएको छ। अदालतले माग गरेका मिसिल हेरेर आगामी पेसीमा विषयमा विस्तृत बहस हुने अपेक्षा गरिएको छ।

