काठमाडौं । तिब्बतियन ओरिजिनल ब्लड (टिओबी) का सदस्य तेन्जीन दावा लामालाई धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले उनीमाथि दर्ता भएका दुवै मुद्दामा धरौटी तोकी छाड्ने आदेश जारी गरेको हो।
लामाविरुद्ध लिखतसम्बन्धी कसुर र लागुऔषधसम्बन्धी कसुरमा छुट्टाछुट्टै मुद्दा दर्ता भएका छन्। अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार लिखतसम्बन्धी कसुरमा पाँच लाख रुपैयाँ धरौटी तोकिएको छ भने लागुऔषधसम्बन्धी आरोपमा २० हजार रुपैयाँ माग गरिएको छ।
जेनजी आन्दोलनपछि सार्वजनिक भएको एक भिडियोका आधारमा तेन्जीनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। सुरुवातमा अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान भए पनि पछि उनको नागरिकतामा कैफियत देखिएपछि लिखतसम्बन्धी अनुसन्धान थपिएको थियो।
अनुसन्धान सकेपछि प्रहरीले फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। सरकारी वकिलले मुद्दा दर्ता गरेपछि थुनछेक बहस सम्पन्न भएको र त्यसपछि अदालतले धरौटीमा छाड्न आदेश दिएको जनाइएको छ।

