काठमाडौं । जेनजी आन्दोलनलाई उक्साएको आरोपमा पक्राउ परेका टीओबी समूहका तेन्जिन दावा विरुद्ध लागुऔषधदेखि नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र कीर्तेसम्मका मुद्दा दर्ता भएका छन्।
करिब तीन महिने अनुसन्धानपछि प्रहरीको फाइल जिल्ला सरकारी वकिल कार्यालय पुगेपछि काठमाडौं जिल्ला अदालतमा तेन्जिनविरुद्ध विभिन्न मुद्दा दायर गरिएको हो। उनको बसोबास स्थलबाट गाँजा बरामद भएपछि लागुऔषधको कसुरमा मुद्दा चलाइएको छ।
त्यसैगरी गलत विवरण पेश गरी नागरिकता लिएको, सोही आधारमा राहदानी र राष्ट्रिय परिचयपत्र बनाएको आरोपमा लिखत कीर्तेसम्बन्धी थप मुद्दा दायर गरिएको प्रहरीले जानकारी दिएको छ। नागरिकतामा उल्लेख गरिएका बाबु कृष्णबहादुर लामाले तेन्जिनलाई नचिनेको बताएपछि कीर्तेको आशंका प्रस्ट भएको प्रहरीले जनाएको छ।
मामिला न्यायाधीश तेजबहादुर खड्काको इजलासमा पुगेको छ। बयानपछि उनलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्नेबारे निर्णय हुनेछ।
जेनजी आन्दोलनका क्रममा चर्चा आएको टीओबी समूहबारे प्रहरीले तीन महिनाको अनुसन्धानपछि यसको फ्री तिब्बत अभियानसँग कुनै सम्बन्ध नरहेको निष्कर्ष निकालेको छ। समूहका सदस्यहरूले टीओबीलाई ‘द ओरिजिनल ब्रदर्स’का रूपमा परिचय दिने गरेको पाइएको छ।

