काठमाडौं । प्रभु बैंकलाई आर्थिक नोक्सानी भएको आरोपमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको छ। सिआइबीको टोलीले बुधबार शाक्यलाई ललितपुरस्थित जावलाखेल क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
शाक्यमाथि बैंकिङ कसुर ऐनअनुसार कारवाही अघि बढाउन म्याद थप गरी अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ। उनी बैंकलाई घाटा हुनेगरी वित्तीय कारोबार मिलाउन सहयोग गरेको आशंकामा अनुसन्धानको दायरामा परेका हुन्।
यसअघि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनसहित तीन जनालाई पनि सिआइबीले यही प्रकरणमा पक्राउ गरिसकेको छ। बैंकको आन्तरिक स्वीकृति, कर्जा प्रक्रिया र वित्तीय लेनदेनमा अनियमितता भएको सूचना पाएपछि अनुसन्धान तीव्र पारेको सिआइबीले जनाएको छ।
यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको भूमिकाबारे पनि अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ।

