संविधानले प्रत्यक्ष रूपमा जनताले अनुभूति गर्नुपर्ने परिणाम दिन सकेन: पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालको संविधानले प्रत्यक्ष रूपमा जनताले अनुभूति गर्नुपर्ने परिणाम दिन नसकेको टिप्पणी गरेका छन्। संविधानप्रति बढ्दो असन्तुष्टिको मूल कारण यसको प्रभावकारी कार्यान्वयन हुन नसक्नु रहेको उनले औंल्याए।

नेपाल कानुन समाजले राजधानीमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले हालको राजनीतिक अभ्यास र शासन शैलीले संविधानबाट अपेक्षित सुधार नआएको बताए। उनका अनुसार यदि संविधानले जनजीवनमा सकारात्मक परिवर्तन ल्याएको भए युवा पुस्तालाई सडकमा निस्किनुपर्ने अवस्था नआउँथ्यो।

उनले भने, “परिणाम देखिँदैन भने संविधान राम्रो छ भन्न सकिन्न। राजनीति विशेष समूहको हितमा केन्द्रित देखिन्छ, सुशासनका अभ्यासहरू कमजोर छन्, अनि जनताले लाभ कहाँबाट पाउने?”

जेनजी आन्दोलनको सन्दर्भ उठाउँदै उनले देशप्रेमले भरिएको नयाँ पुस्ताको आवाजलाई खारेजी होइन, मार्गदर्शन र सदुपयोगतर्फ मोड्नुपर्ने धारणा राखे। “युवाहरू देशप्रेमका साथ सडकमा उत्रिएका छन्। उनीहरूको मागलाई सुन्ने र सम्मान गर्ने जिम्मेवारी राज्यकै हो,” उनले जोड दिए।

उनका अनुसार अहिलेको चुनौती संविधानको खोटभन्दा धेरै यसको कार्यान्वयन, नेतृत्वको निष्ठा र राजनीतिक संस्कारमा देखिएको छ, जसले जनस्तरमा असन्तुष्टि बढाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज