काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै पहिरो जाँदा दुइ दिनदेखि बन्द हुन पुगेको छ । कम्तिमा ३६ घण्टादेखि यो सडक भएर यात्रा गर्ने हजारौँ यात्रु तथा सवारी साधन अलपत्र परेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बाटोको अवस्था अनिश्चित रहेकोले यात्रुहरूलाई ठुलो जोखिममा नपर्न आग्रह गरेका छन् । उनले मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भएपछि विगत दुई–तीन दिनदेखि हजारौँ गाडीहरू मुग्लिनतर्फ रोकिएका छन् ।
हिजो र आजका लागि टिकट काटेका यात्रुहरूको सङ्ख्या २० हजारभन्दा बढी रहेको र उनीहरू सबै अलपत्र परेको उनले जानकारी दिए । यदि अहिले गाडीहरूलाई पठाइएमा पनि उनीहरू बाटोमै अलपत्र पर्ने जोखिम छ ।
सामान्य अवस्थामा पनि गन्तव्यसम्म पुग्न कम्तीमा ६,७ घण्टा लाग्ने गर्छ, तर अहिले बाटोको अवस्था अनिश्चित भएकाले यात्रा थप कष्टकर हुनेछ सिटौलाले भने ।बाटोको अवस्था अन्योल हुँदा टिकेट काट्न बन्द भएको छ भने दशैंको मुखमा यात्रा गर्ने यात्रुलाई थप सास्ती भइरहेको छ ।

