अन्तरिम प्रधानमन्त्रीमा सुशिला कार्कीको नियुक्ति वैधानिक भएको स्वतन्त्र कानुन व्यवसायी मञ्चको दाबी

काठमाडौं । स्वतन्त्र कानुन व्यवसायी मञ्चले अन्तरिम प्रधानमन्त्रीमा सुशिला कार्कीको नियुक्ति वैधानिक भएको दाबी गरेको छ। आइतबार विज्ञप्ति जारी गर्दै मञ्चले संसद विघटन र निर्वाचन मिति तोक्ने निर्णयलाई समेत वैधानिक ठहर गरेको हो।

मञ्चका अध्यक्ष यज्ञमणि न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीज्यूलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्ने कार्य संसारमा प्रचलित ‘पोलिटिकल लेजिटिमेसी’ को सिद्धान्त तथा ‘डक्टरिन अफ रिप्लेसमेन्ट’ अनुसार वैधानिक भएको हो। त्यस्तै आम निर्वाचनको मिति तोकी संसद विघटन गरिएको कार्य पनि वैधानिक नै ठहरिन्छ।”

प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन मिति तोकेको छ।

यससँगै मञ्चले नेपाल बार एसोसिएसनको धारणा प्रति असहमति जनाएको छ। यसअघि बारले संसद विघटनलाई असंवैधानिक भन्दै वक्तव्य जारी गरेको थियो। तर मञ्चले भने बार एसोसिएसन सम्पूर्ण कानुन व्यवसायीहरूको प्रतिनिधित्व गर्न असमर्थ रहेको दाबी गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “नेपालका हालका सम्पूर्ण कानुन व्यवसायीहरूको आधाभन्दा बढी सदस्य नै रहन नसकेको वा सदस्य हुन इन्कार गरेको अवस्थामा एसोसिएसनले सबै कानुन व्यवसायीको आवाज प्रतिनिधित्व गर्न सक्दैन।”

सम्बन्धित समाचार

ताजा न्यूज