काठमाडौं । सर्वोच्च अदालतमा रहँदै विवादित गतिविधिमा संलग्न भएको आरोप खेप्दै आएका कर्मचारी आर्दश श्रेष्ठ अन्तरिम प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको अघिपछि देखिन थालेपछि चासो बढेको छ।
सिन्धुली घर भएका श्रेष्ठ २०६१ सालमा सर्वोच्च अदालतको आईटी सपोर्ट पर्सन पदमा नियुक्त भएका थिए। लामो समय उनले पेशी व्यवस्थापन शाखामा काम गरे। गोलाप्रथा सुरु हुनुअघि उनी प्रधानन्यायाधीशको सरकारी निवास बालुवाटारमै बसेर पेशी तोक्ने कार्यमा संलग्न रहँदै आएका थिए। सर्वोच्चका कर्मचारीहरूका अनुसार उनीसँग सम्बन्ध भएका कानुन व्यवसायीहरू अन्यभन्दा अघि नै कुन न्यायाधीशको इजलासमा मुद्दा पर्न लागेको छ भन्ने जानकारी पाउँथे।
कल्याण श्रेष्ठ र सुशीला कार्की प्रधानन्यायाधीश रहँदा आर्दश श्रेष्ठ सर्वोच्चभित्र झनै प्रभावशाली बनेका थिए।आन्दोलनकै बलमा प्रधानमन्त्री बनेकी कार्कीको पदभार ग्रहणको दिनदेखि नै श्रेष्ठ उनको ‘हर्ताकर्ता’का रूपमा सार्वजनिक देखिनुले धेरैलाई प्रश्न उठाएको छ। उनले प्रधानमन्त्रीको सचिवालयमै बसेर काम गर्ने तयारी गरेको श्रोतको दावी छ। श्रोतका अनुसार श्रेष्ठ सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठका बहिनी ज्वाइँका भाइ हुन् ।

