आईजीपी कार्कीलाई कारबाही गरिएको होइन, जिम्मेवारी हेरफेर मात्र हो: सरकारका प्रवक्ता पोखरेल

काठमाडौँ। सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाइनु कारबाही नभई सामान्य जिम्मेवारी हेरफेर मात्र भएको स्पष्ट पारेको छ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार ब्रिफिङमा सरकारका प्रवक्ता सस्मित पोखरेलले कार्कीको हेरफेरलाई कारबाहीका रूपमा नलिन आग्रह गरे। पत्रकारहरूले आईजीपी कार्कीलाई अकस्मात् जिम्मेवारीबाट हटाउनुको कारण सोधेपछि प्रवक्ता पोखरेलले सरकारको धारणा स्पष्ट पारेका हुन्।

“उहाँलाई कारबाही गरिएको होइन, जिम्मेवारी हेरफेर मात्र गरिएको हो,” प्रवक्ता पोखरेलले भने, “अब उहाँको भूमिका प्रधानमन्त्रीलाई शान्ति-सुरक्षासम्बन्धी सल्लाह दिने हुन्छ। सुरक्षा सल्लाहकारका रूपमा उहाँलाई दिइएको अहिलेको जिम्मेवारी पनि उत्तिकै संवेदनशील छ।”

प्रवक्ता पोखरेलका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित विभिन्न तवरबाट देशको संवेदनशील विषयमा सरकारले कदम चाल्नुपर्ने निर्देशन आएपछि यो निर्णय लिइएको हो। “धेरै ठाउँबाट र पार्टीबाट पनि संवेदनशील विषयमा सरकारले केही गर्नुपर्‍यो भनेर निर्देशन आएको थियो,” उनले थपे।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई हटाएर अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्त गरेको थियो भने कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी सुम्पेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज