काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपनेता गणेश पराजुलीले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई लक्षित गरी संसद्मा गरेको टिप्पणीप्रति नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ। मंगलबारको बैठकमा पराजुलीले न्यायाधीशहरू व्यापारिक घरानाका कार्यक्रममा जाने गरेको र दुई तिहाइको सरकारलाई ललकार्ने काम गरेको भन्दै प्रश्न उठाएका थिए।
त्यसको प्रतिवाद गर्दै बुधबार कांग्रेस सचेतक निश्कल राईले संसद्मा न्यायाधीशहरूको विषयमा बहस गर्न नपाइने संवैधानिक प्रावधानको स्मरण गराउँदै रास्वपाको कदमलाई असंवैधानिक र अराजनीतिकको संज्ञा दिएका छन्।
सचेतक राईले संविधानको धारा १०५ को हवाला दिँदै महाअभियोगको प्रक्रिया बाहेक अन्य साधारण अवस्थामा न्यायाधीशले कर्तव्य पालनाको सिलसिलामा गरेको न्यायिक कार्यबारे सदनमा छलफल गर्न नपाइने स्पष्ट पारेका छन्। सत्तापक्षका वरिष्ठ माननीयले नै रोस्ट्रममा उभिएर संविधानको उल्लंघन गर्दा सभामुख मूकदर्शक बनेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। रास्वपालाई ‘संविधान पढेको छ कि छैन’ भन्दै कटाक्ष गरेका राईले कुनै पनि माननीय संविधानभन्दा माथि हुन नसक्ने जिकिर गरे। उनले यस्ता असंवैधानिक हर्कत संसद्मा नदोहोरियोस् भनी सभामुखलाई विशेष रुलिङ गर्न र असंवैधानिक विषय उठाउने सांसदलाई रोक्न माग समेत गरेका छन्।

