काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउ विरुद्धको प्रदर्शनमा सहभागी भएकी अमिसा पराजुलीले आफूमाथि भएको चरम डिजिटल हिंसा विरुद्ध कानुनी बाटो रोजेकी छन्। प्रदर्शनका क्रममा उनले दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा निकै तल्लो स्तरको गालीगलौच र बलात्कार जस्ता गम्भीर धम्कीहरू आएपछि उनले बुधबार साइबर ब्यूरोमा उजुरी दर्ता गराएकी हुन्।
साइबर ब्यूरोका अनुसार पराजुलीले आफूलाई सामाजिक सञ्जालमा तारन्तार धम्की दिने र अश्लील शब्द प्रयोग गर्नेहरू विरुद्ध कारबाहीको माग गर्दै निवेदन दिएकी हुन्। प्रदर्शनमा आफ्नो विचार राखेको विषयलाई लिएर विभिन्न सामाजिक सञ्जालका कमेन्ट बक्सहरूमा उनलाई लक्षित गर्दै हिंसात्मक र आपत्तिजनक प्रतिक्रियाहरूको ओइरो लागेको थियो।
अमिसाले आफूमाथि आएका ती सबै अश्लील र धम्कीपूर्ण कमेन्ट तथा मेसेजहरूलाई प्रमाणका रूपमा संकलन गरेर राखेकी थिइन्। सोही प्रमाणका आधारमा दोषीहरूलाई पहिचान गरी कडा कानुनी कारबाही हुनुपर्ने उनको माग रहेको छ। लोकतन्त्रमा आफ्नो मत राख्न पाउनु अधिकार भए पनि त्यसकै आडमा महिलामाथि हुने यस्तो निकृष्ट डिजिटल हिंसा र धम्कीले सामाजिक सञ्जालको डरलाग्दो चित्र प्रस्तुत गरेको छ। अब ब्यूरोले उनले बुझाएका प्रमाणका आधारमा दोषीहरूको खोजी र अनुसन्धान प्रक्रिया अगाडि बढाउने बताएको छ।

