रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णय

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी अभियोग फिर्ता लिन स्वीकृति दिएको छ।

यो निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्सा जिल्ला अदालतमा दर्ता भएका ती अभियोगहरू फिर्ता हुने भएका छन्। महान्यायाधिवक्ता कार्यालयका अनुसार सम्बन्धित सरकारी वकिल कार्यालयलाई अभियोगपत्र संशोधन गर्ने अधिकार प्रदान गरिएको हो।

महान्यायाधिवक्ता सबिता भण्डारी बरालले सहकारी ठगीसम्बन्धी मुद्दा यथावत् रहने स्पष्ट पारेकी छन्। उनका अनुसार संगठित अपराध र सम्पत्ति शुद्धिकरणका अभियोग हटाउने गरी मात्रै अभियोगपत्र संशोधन गर्न स्वीकृति दिइएको हो, यसलाई समग्र मुद्दा फिर्ता लिएको रूपमा बुझ्न नहुने बताइन्छ।

बुधबार गरिएको निर्णयपछि कास्की जिल्ला अदालतमा चलिरहेको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता हुनेछन् भने रुपन्देही, काठमाडौं र पर्सा जिल्ला अदालतमा दर्ता संगठित अपराधका मुद्दा पनि अन्त्य हुनेछन्।

यद्यपि, चितवन जिल्ला अदालतमा रवि लामिछानेविरुद्ध संगठित अपराध वा सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा दर्ता नभएकाले त्यहाँ अभियोगपत्र संशोधनको प्रक्रिया लागू नहुने महान्यायाधिवक्ता कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज