काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी अनुशासनात्मक कारबाही गरेको हो। पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार नेतृत्वको निर्णय उल्लंघन र संगठनात्मक अनुशासन विपरीत गतिविधि गरेको ठहर गर्दै कारबाही अघि बढाइएको हो।
पछिल्लो समय पार्टी एकताका लागि भन्दै दुई महामन्त्रीले कार्यवाहक सभापति खड्कालाई ‘अन्तिम विकल्प’का रूपमा आठबुँदे प्रस्ताव पठाएका थिए। प्रस्तावमा सभापति शेरबहादुर देउवा पार्टीका दैनिक गतिविधिबाट अलग रहने, टिकट वितरणलगायत निर्णय कार्यवाहक सभापतिको हस्ताक्षरबाट हुने, अन्तरिम अवधिका लागि ‘हाई कमान्ड’ बनाएर पार्टी सञ्चालन गर्ने तथा गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै चुनावमा जाने जस्ता विषय समावेश थिए।
तर संस्थापन पक्षले हस्ताक्षरसम्बन्धी प्रस्तावबाहेक अन्य बुँदा अस्वीकार गरेपछि सहमति जुट्न सकेन। त्यसपछि रोकिएको केन्द्रीय समिति बैठक पुनः बसेर कारबाहीको निर्णयमा पुगेको हो।
यसैबीच विशेष महाधिवेशन प्रक्रियाअन्तर्गत सभापति पदका लागि गगन थापाको मात्रै उम्मेदवारी दर्ता भएको छ। महामन्त्री पदमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेल तथा सहमहामन्त्रीमा बहादुरसिंह लामाको उम्मेदवारी परेको छ। विधानअनुसार कांग्रेसमा आठ सहमहामन्त्री रहने व्यवस्था छ, जसका लागि विभिन्न क्लस्टर निर्धारण गरिएको छ।
आन्तरिक विवाद, नेतृत्व संघर्ष र कारबाहीसँगै कांग्रेसको विशेष महाधिवेशन थप पेचिलो बन्दै गएको देखिन्छ। पार्टीभित्रको यो निर्णयले आगामी महाधिवेशन र समग्र राजनीतिक समीकरणमा ठूलो प्रभाव पार्ने विश्लेषण गरिएको छ।

