जनकपुरधाम । मधेश प्रदेश सभाले जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादवलाई नयाँ सभामुखका रूपमा चयन गरेको छ। प्रदेशसभा बैठकमा भएको मत विभाजनमा सातदलीय गठबन्धनका उम्मेदवार यादवले ७२ मत प्राप्त गर्दै स्पष्ट बहुमतसहित विजय हासिल गरेका हुन्। विपक्षतर्फ २४ मत परेको थियो। मतदानका क्रममा सदनमा ९६ सांसद उपस्थित थिए।
उपसभामुख बबिता राउत इशरले सभामुखको आसनबाट मत परिणाम सार्वजनिक गर्दै यादव निर्वाचित भएको घोषणा गरिन्। यादवको उम्मेदवारी नेपाली कांग्रेसका सांसद विरेन्द्र प्रसाद सिंहले प्रस्ताव गरेका थिए।
सभामुख चयनका लागि प्रस्तुत प्रस्तावमा बहुमतले समर्थन जनाएपछि प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका त्रिलोकी प्रसाद यादवको प्रस्ताव भने अघि नबढाइएको प्रदेशसभा सचिवालयले जनाएको छ।
नवनिर्वाचित सभामुख रामअशिष यादव धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित सांसद हुन्। यसअघि उनी जसपा नेपालका प्रमुख सचेतकको भूमिकामा सक्रिय थिए।
यसअघि मधेश प्रदेश सभामुख रहेका नेकपा एमालेका रामचन्द्र मण्डललाई सातदलीय गठबन्धनले पदअनुकूल आचरण नगरेको आरोपसहित गत मंसिर ३ गते दुई तिहाइ बहुमतबाट पदमुक्त गरेपछि सभामुख पद रिक्त थियो। नयाँ सभामुख चयनसँगै प्रदेशसभा सञ्चालनले नियमित गति लिने अपेक्षा गरिएको छ।

