रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न उच्च अदालत बुटवलको आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न उच्च अदालत बुटवलले आदेश दिएको छ। अदालतले तोकेको जमानत तथा धरौटी रकम बुझाएपछि उनी थुनाबाहिर बस्न पाउने छन्।

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार लामिछानेलाई २ करोड ६८ लाख रुपैयाँ जमानतमा रिहा गर्न आदेश गरिएको हो। साथै, अदालतले थप १ करोड रुपैयाँ धरौटी राख्नसमेत निर्देशन दिएको छ।

न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासमा लामिछानेको निवेदनमाथि सुनुवाइ भएको थियो। उनले बिगो बराबरको रकम बुझाएर थुनाबाहिर बस्न पाउने व्यवस्था गर्न माग गर्दै अदालतमा निवेदन दायर गरेका थिए।

अदालतको आदेशअनुसार तोकिएको रकम बुझाएपछि लामिछाने थुनामुक्त हुनेछन्। यससँगै उनीविरुद्धको मुद्दा अदालतको नियमित प्रक्रियाअनुसार अगाडि बढ्ने जनाइएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज