पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका पूर्व आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन आयोजना प्रमुख बिनेश मुनकर्मीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

अदुअआका अनुसार मुनकर्मीले सरकारी सेवामा रहँदा आफ्नो वैधानिक आम्दानीको स्रोतसँग मेल नखाने गरी २ करोड ५० लाख ३४ हजार ५१७ रुपैयाँ बराबरको अस्वाभाविक सम्पत्ति आर्जन गरेको देखिएको छ। सोही आधारमा मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।

आयोगले २०५४ सालमा सरकारी सेवामा प्रवेश गरेदेखि २०८० सालसम्मको अवधिमा मुनकर्मी तथा उनको परिवारको आय–व्यय विवरण अध्ययन गरेको थियो। छानबिनका क्रममा उक्त अवधिमा वैध आय ३ करोड ७३ लाख ८१ हजार ४४४ रुपैयाँ देखिए पनि खर्च भने ६ करोड २४ लाख १५ हजार ९६१ रुपैयाँ पुगेको पाइएको आयोगको दाबी छ। आयभन्दा बढी भएको २ करोड ५० लाख ३४ हजार ५१७ रुपैयाँको स्रोत खुल्न नसकेपछि त्यसलाई गैरकानुनी सम्पत्ति ठहर गरिएको हो।

अदुअआले मुनकर्मीबाट गैरकानुनी सम्पत्तिको बिगो बराबर जरिवाना असुल गर्न माग गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० बमोजिम १ देखि ३ वर्षसम्म कैद सजायको माग गरेको छ।

त्यसैगरी, वार्षिक रूपमा पेस गर्नुपर्ने सम्पत्ति विवरणमा झुटा विवरण समावेश गरेको आरोपमा ऐनको दफा १६ (२) अनुसार १ देखि ३ महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुनुपर्ने माग पनि अभियोगपत्रमा गरिएको छ।

अदुअआका अनुसार मुनकर्मीले सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको, वैधानिक आम्दानीभन्दा अस्वाभाविक रूपमा उच्च जीवनशैली अपनाएको तथा श्रीमतीको नाममा समेत सम्पत्ति खरिद गरेको प्रमाण फेला परेको छ। अब उक्त मुद्दामा विशेष अदालतले थप प्रक्रिया अघि बढाउनेछ।

सम्बन्धित समाचार

ताजा न्यूज