विघटित प्रतिनिधिसभाका सदस्य सन्तोष चालिसेविरुद्ध चालिसेविरुद्ध ३ करोड ६८ लाख अकुत सम्पत्तिको मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सदस्य सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा उनीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगसहित आरोपपत्र दर्ता गराएको हो।

आयोगका अनुसार सार्वजनिक पदमा रहँदा पदीय मर्यादा विपरीत कार्य गरी उनले अस्वाभाविक रूपमा सम्पत्ति बढाएको ठहर गरिएको छ। गोकर्णेश्वर नगरपालिकाको मेयर रहेको अवधि (२०७४ जेठदेखि २०७९ असारसम्म) लाई आधार मानेर गरिएको छानबिनमा उनको वैध आयभन्दा खर्च र लगानी अत्यधिक देखिएको हो।

अनुसन्धानबाट चालिसे तथा परिवारको कुल वैध आय करिब ४ करोड ८८ लाख रुपैयाँ रहेको देखिएको छ। तर, सोही अवधिमा घर निर्माण, जग्गा तथा सेयर खरिद, कर्जा भुक्तानी, बीमा र विभिन्न लगानीमा ८ करोड ५६ लाख रुपैयाँभन्दा बढी खर्च भएको पाइएको छ। आय–व्ययको तुलनामा ३ करोड ६८ लाख ४७ हजार रुपैयाँ बराबरको स्रोत नखुलेको सम्पत्ति भेटिएपछि सोही रकम बिगो कायम गरी कारबाही माग गरिएको अख्तियारले जनाएको छ।

अनुसन्धानका क्रममा उनले ऋण लिएको दाबी गर्दै पेश गरेका कागजातहरू पछि तयार पारिएको ठहर भएको छ। ती कागजपत्रले वैधानिक आयको स्रोत पुष्टि गर्न नसकेको र उनले उच्च जीवनशैली अपनाएको आरोपपत्रमा उल्लेख छ।

गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्न उनकी श्रीमती, छोराहरू र बुहारीलाई समेत प्रतिवादी बनाइएको छ। चालिसे काठमाडौं–३ बाट निर्वाचित पूर्व सांसद तथा संघीय संसदको अर्थ समितिका पूर्व सभापति समेत हुन्।

सम्बन्धित समाचार

ताजा न्यूज