नवनियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार चार मन्त्री थपिएका छन्। उनीहरूले शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

नवनियुक्त मन्त्रीहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन्। शपथपछि उनीहरूलाई मन्त्रालयको जिम्मेवारीसमेत तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाएकी श्रद्धा श्रेष्ठ नेपाल पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक हुन्। उनी बोर्डमा ‘सस्टेनेबल टुरिजम’ परियोजनाको नेतृत्व गर्दै आएकी थिइन्।

वन मन्त्रालय सम्हाल्न पुगेका माधव चौलागाईं जनस्वास्थ्य विज्ञ हुन्। कर्णाली क्षेत्रमा केन्द्रित उनका अध्ययनहरू चर्चित छन्। उनले कर्णालीबारे लेखेको ‘सपादलक्ष कर्णाली’ पुस्तक प्रकाशित छ, भने ‘मान्ठ हुँ म मान्ठ’ भनिने गीत पछिल्लो समय निकै लोकप्रिय बनेको थियो।

श्रम मन्त्रालय पाएका राजेन्द्रसिंह भण्डारी नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक हुन्। उनी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का संस्थापक प्रमुख रहिसकेका छन्।

भूमि मन्त्रालयको नेतृत्व पाएका कुमार इङ्नाम ‘काठमाडौं स्कुल अफ ल’ का प्राध्यापक हुन्। अन्तर्राष्ट्रिय व्यापार, मध्यस्थता र वित्तीय अपराधसम्बन्धी कानुनका विज्ञ इङ्नामले यस विषयमा थुप्रै पुस्तक लेखेका छन्। ‘काठमाडौं स्कुल अफ ल’ मा आवद्ध हुनुअघि उनले इलामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसमा अध्यापन गरेका थिए।

सम्बन्धित समाचार

ताजा न्यूज