पूर्वसहकर्मी न्यायाधीशका कारण रवि लामिछाने–छविलाल जोशी मुद्दामा आजको पेशी ‘हेर्न नमिल्नेमा’

बुटवल । सुप्रिम सहकारी ठगी तथा संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा तोकिएको बुधबारको पेशी ‘हेर्न नमिल्नेमा’ परेपछि सुनुवाइ स्थगित भएको छ। आजको पेशी न्यायाधीश तेजनारायण पौडेल र सागर बिष्टको संयुक्त इजलासमा तोकिएको थियो। तर न्यायाधीश सागर बिष्ट र लामिछानेतर्फबाट वकालतनामा दर्ता गराएका कानुन व्यवसायी शालिकराम पौडेल पूर्वसहकर्मी भएकाले मुद्दा हेर्न नमिल्नेमा परेको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए। यसअघि मंसिर ११ मा तोकिएको पेशी पनि लामिछानेका कानुन व्यवसायीको अनुरोधमा स्थगित भएको थियो।

सुप्रिम सहकारी प्रकरणमा थुनामा रहेका लामिछाने र जोशीविरुद्धको मुद्दा कात्तिक १३ पछि निरन्तर पाँचौँ–छैटौँ पटक पेशीमा चढेको हो। दुवैजना पुर्पक्षका लागि थुनामा छन्—जोशी भैरहवा कारागारमै छन् भने लामिछाने हाल नख्खु कारागारमा सरुवा भइसकेका छन्। दुवैले आफूले देखिएको अपचलनको भागबराबर बिगो दाखिला गरी थुनाबाहिर बसेर मुद्दा लड्न माग गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाले साउन २६ मा उनीहरूलाई रिहा गर्न अस्वीकार गरेका थिए।

लामिछाने उच्च अदालतमा पुगेपछि कात्तिक २७ मा भएको सुनुवाइमा सर्वोच्च अदालतले मुल अभियोगको सक्कल मिसिल मगाउन आदेश गरेको थियो। त्यसपछि उच्च अदालत बुटवल इजलासका न्यायाधीश बासुदेव आचार्य र ओमप्रसाद अर्यालले पनि क्रमशः कात्तिक २० र गत बिहीबार मिसिल मगाउने आदेश दिइसकेका छन्। जेन–जी आन्दोलनको क्रममा बुटवल उच्च अदालतमा आगजनी भए पनि लामिछाने–जोशीको मुद्दा समेटिएको फाइल भने सुरक्षित रहेको अदालतले जनाएको छ।

सुप्रिम सहकारी ठगी प्रकरणमा १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो राखी अभियोगपत्र दायर भएको छ। लामिछानेले चार भागमा बाँडिएको बिगोमध्ये आफ्नो भाग बराबर करिब २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पेस गरेका थिए। जोशीले पनि त्यति नै रकमको जमानत दाखिला गरेका थिए। तर दुवै प्रतिवादीको वास्तविक हिस्साबारे यकिन नहुँदा अदालतले थुनामुक्त गर्ने माग अस्वीकार गर्दै दुवैलाई पुर्पक्षकै लागि थुनामा राख्ने निर्णय गरेको हो।

उच्च अदालत बुटवलले लामिछाने–जोशीको मुद्दालाई प्राथमिकतामा राखेर अघि बढाइरहेको जनाएको छ। सर्वोच्चबाट सक्कल मिसिल आएपछि आगामी पेशीमा मुद्दा निर्णयको चरणमा जान सक्ने संकेत देखिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज