पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध ८ अर्बको मुद्दा दायर गर्ने तयारी

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५५ जनासमेतलाई प्रतिवादी बनाउन मुद्दा दायर गर्ने निर्णय गरेको छ। आयोगको टोली आइतबार करिब ८ अर्ब रुपैयाँ बिगो मागदाबी हुने अभियोगपत्र लिएर विशेष अदालततर्फ पुगेको छ।

प्रतिवादीको सूचीमा पाँच पूर्वमन्त्री पोष्टबहादुर बोगटी (दिवंगत, जसका नाममा पत्नी राममाया बोगटी समावेश), रामशरण महत, दीपक अमात्य, रामकुमार श्रेष्ठ र भीम आचार्य सहित १० पूर्वसचिवहरू परेका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी, पूर्वनिर्देशक मुरारी भण्डारी, साथै विमानस्थल निर्माणसम्बन्धी अध्ययन कार्यदलका तत्कालीन संयोजक तथा सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार रामकृष्ण तिमल्सेना, सुरेशमान श्रेष्ठ, मधुकुमार मरासिनीलगायतका अधिकारीहरूलाई पनि प्रतिवादी बनाउने तयारी छ।

चिनियाँ ऋण सहयोगमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ‘राष्ट्रिय गौरव’को आयोजना मानिए पनि अध्ययन, ठेक्का प्रक्रिया र बजेट उपयोगमा व्यापक अनियमितता भएको आरोपले यस प्रकरणलाई चर्चामा ल्याएको थियो। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले यस वर्ष वैशाखमा करिब १० अर्ब अनियमितताको संकेतसहित अख्तियारलाई थप अनुसन्धान गर्न निर्देशन दिएको थियो।

करिब सात महिनासम्म चलेको छानबिनपछि अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गर्ने अन्तिम तयारी पूरा गरेको हो।

सम्बन्धित समाचार

ताजा न्यूज