काठमाडौँ । भक्तपुरको नलिन्चोकस्थित हेलिकप्टर सेवालाई लिएर उठेको अनियमितता अनुसन्धानको निष्कर्षले ठूलो मोड लिँदै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसहित सातजनामाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारीसँगै निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक समृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, विजय थापा, गुरुदत्त अधिकारी र एक इन्जिनियरिङ कम्पनीलाई प्रतिवादी बनाई मुद्दा दर्ता गरेको हो।
विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार प्रत्येक प्रतिवादीविरुद्ध १३ करोड ५७ लाख ४६ हजार २ सय १३ रुपैयाँ ७६ पैसाको बिगो दाबी गरिएको छ। हेलिकप्टर सेवा अनुमति, नियमन र प्रक्रिया व्यवस्थापनमा भएको भनिएका अनियमितताकै आधारमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
नलिन्चोक हेलिकप्टर प्रकरण लामो समयदेखि सार्वजनिक चासोमा रहेको विषय हो। मुद्दा दर्तासँगै प्रकरणले अब कानुनी प्रक्रियाको नयाँ चरणमा प्रवेश गरेको छ।

