काठमाडौँ । भेप प्रणालीमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। उच्च अदालतको आदेशपछि उनी बिहीबार साँझ केन्द्रीय कारागार सुन्धाराबाट बाहिरिएका हुन्।
कारागारका अनुसार महरालाई अदालतको आदेश पुगेपछि धरौटी प्रक्रिया पूरा गराई रिहा गरिएको हो। महरा असोज २९ गते काठमाडौँ जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा पुगेका थिए।
उच्च अदालतका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले महरालाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो। सुन तस्करी सम्बन्धी मुद्दाको अनुसन्धन र सुनुवाइ भने जारी रहने अदालतले जनाएको छ।

