काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यक्रमको थपिएको समय शुक्रबार सकिएको छ। आयोगले कात्तिक ३० पछि बढेको चाप र विभिन्न पक्षको आग्रहलाई आधार मानेर मंसिर ५ गतेसम्मका लागि समय थपेको थियो।
थपिएको अवधि अवधिभर आयोगले ८ लाख ३७ हजार ९४ नयाँ मतदाता दर्ता गरेको छ। यसमध्ये बायोमेट्रिक प्रणालीमार्फत ३ लाख ४४ हजार ९१४ जना र राष्ट्रिय परिचयपत्रमार्फत ४ लाख ९२ हजार १८० जनाले नयाँ मतदान अधिकार प्राप्त गरेका छन्।
यसैबीच, आगामी निर्वाचनलाई ध्यानमा राख्दै विभिन्न राजनीतिक समूह सक्रिय बनेका छन्। आयोगका अनुसार शुक्रबारसम्म १० नयाँ राजनीतिक दल दर्ता भएका छन्। श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल, राष्ट्रिय परिवर्तन पार्टी, राष्ट्रिय जनमत पार्टी, कम्युनिस्ट पार्टी नेपाल, राष्ट्र निर्माण दल, राष्ट्रिय उर्जाशील पार्टी, पिपल्स फर्स्ट पार्टी र उज्यालो नेपाल पार्टीले आधिकारिकरूपमा दर्ता प्रक्रिया पूरा गरेका हुन्।
यसबाहेक अन्य २८ दल दर्ताका लागि प्रस्ताव सहित आयोगमा आएका छन् र ती दलहरू हाल प्रक्रियामा रहेको आयोगले जनाएको छ।
मतदाता सूची अद्यावधिक र नयाँ दल दर्ताको वृद्धि आगामी चुनावी प्रतिस्पर्धा थप रोचक र विविध हुने संकेतका रूपमा हेरिएको छ।

