दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र सर्वोच्चमा पेस गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ।

न्यायाधीश मेघराज पोखरेलको इजलासले बिहीबार प्रसाईंसहित विपक्षी निकायलाई कारण देखाउनुका साथै बन्दीसहित पेश गर्न निर्देशन दिएको हो। सर्वोच्चका सह-रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार अदालतले तुरुन्त उपस्थित गराउने आदेश दिएको हो।

यसअघि प्रसाईंका छोरा निराजन प्रसाईंले बुधबार बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट दायर गर्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी परिसर काठमाडौंलाई विपक्षी बनाएर अदालतमा पुगेका थिए।

दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार राति भक्तपुरस्थित घरबाट नियन्त्रणमा लिएको थियो। विवादास्पद अभिव्यक्ति दिँदै अराजक गतिविधि भड्काउन सक्ने आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ। सोही घटनामा उनका बडीगार्ड दीपक खड्कालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज