मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्र लाभ सिफारिस

काठमाडौं। मधेश प्रदेशको विवादास्पद राजनीतिक घटनाक्रमले सोमबार नयाँ मोड लिएको छ। मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरी नयाँ प्रमुखका रूपमा सुरेन्द्र लाभको नाम राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

भण्डारीको कार्यशैली र पछिल्लो कदमलाई लिएर प्रदेशमा उत्पन्न चर्को विवादपछि सरकारले कठोर फैसला गरेको हो। संचारमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप कुमार खरेलका अनुसार ‘मधेशमा विकसित परिस्थितिका कारण’ भण्डारीलाई हटाइएको हो।

गत आइतबार कांग्रेससहित सात दलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको दाबी पेश गर्दै सरकारले गठनका लागि प्रदेश प्रमुखलाई खबरदारी गरेका थिए। तर सोही दिन अस्वस्थ रहेको भन्दै जनकपुरबाट काठमाडौं जाने तयारीमा रहेको भण्डारी अचानक होटल पानसमा बसेर धारा १६८(३) अनुसार एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र जारी भएको थाहा पाएपछि ठूलो विवाद चुलिएको थियो। उनले त्यही होटलमै यादवलाई शपथ समेत खुवाएकी थिइन्।

घटना सार्वजनिक भएपछि प्रदेशमै तीव्र प्रतिक्रिया देखियो। निवर्तमान मुख्यमन्त्री तथा लोसपा नेता जितेन्द्र सोनलले ‘प्रदेशको अस्मिता समाप्त पार्ने निर्णय’ गरेको भन्दै भण्डारीमाथि गम्भीर आरोप लगाए। प्रदेश सभाका सांसद र दलका कार्यकर्ताहरूले प्रदेश प्रमुख आवासदेखि मुख्यमन्त्री कार्यकक्षसम्म तोडफोडसमेत गरे।

यही चर्किएको संकटबीच सरकारले नयाँ प्रदेश प्रमुखका रूपमा सुरेन्द्र लाभलाई प्रस्ताव गरेको छ। अब राष्ट्रपति कार्यालयले औपचारिक नियुक्ति प्रक्रिया अगाडि बढाउनेछ।

सम्बन्धित समाचार

ताजा न्यूज