देउवा दम्पत्ती उपचारको नाममा थाइल्याण्ड भाग्न खोज्दै, शीर्षनेताहरु सबैको पासपोर्ट रोक्का तयारी

काठमाडौं । उपचारका नाममा देउवा दम्पत्ती थाइल्याण्ड भाग्न खोजेपछि सरकारले शीर्षनेतासहितका उनीहरुको निगरानी राख्न थालेको छ । सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी थालेको छ ।

जेनजी आन्दोलनको दमनमा संलग्न भएकाहरू र भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा परेकाहरूमाथि यस्तो कदम चाल्नेबारे छलफल भएको छ ।

सुशीला कार्की नेतृत्वको सरकारले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूलाई पासपोर्ट रोक्कासहित कानुनी दायरामा ल्याउने तयारी गरेको हो ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकको पासपोर्ट रोक्का गर्ने र कांग्रेस सभापति शेरबहादुर देउवा तथा उनकी पत्नी आरजु राणा देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत माथि सुक्ष्म निगरानी गरिने स्रोतको दाबी छ । तर हालसम्म भने कसैको राहदानी आधिकारिक रूपमा रोकिएको छैन ।

यसबीच, कांग्रेस सभापति देउवा र उनकी पत्नी आरजुले असोज ३ गते नयाँ राहदानी निकालेको पाइएको स्रोतको दाबी छ । भदौ २४ मा बुढानीलकण्ठस्थित देउवा निवासमा तोडफोड र आगजनी हुँदा पासपोर्ट जलेको वा हराएको अनुमान गरिएको थियो । त्यसपछि नयाँ पासपोर्ट प्राप्त गरेलगत्तै उनीहरूको पासपोर्टमा थाइल्यान्डको भिसा पनि लागेको दाबी गरिएको छ ।

सरकार यसबारे सतर्क बनेको र पासपोर्ट रोक्का गर्ने विषयमा गृहकार्य भइरहेको छ ।

यता सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानमन्त्री देउवा, उनकी पत्नी आरजु राणा देउवा, निवर्तमान ऊर्जा मन्त्री दीपक खड्का, माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्पत्तिमाथि अनुसन्धान सुरु गरेको छ । विभागले आगजनीग्रस्त देउवा, प्रचण्ड र खड्का निवासमा पुगेर मुचुल्का उठाएको थियो । त्यहाँबाट भेटिएका पैसाका टुक्रा, खरानी र भिडियो सामग्री नेपाल प्रहरीको फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको स्रोतको दाबी छ । जेनजी आन्दोलनका क्रममा घर आगजनी हुँदा उनीहरूको घरमा ठूलो धनराशी फेला परेको भिडियो सार्वजनिक भएपछि विभागले अनुसन्धान थालेको हो ।

देउवा दम्पत्तीमाथि गैरकानुनी सम्पत्ति आर्जन, पदको दुरुपयोग र भूमिगत गिरोहसँग सम्बन्ध रहेको आरोप लाग्दै आएको छ । त्यस्तै निवर्तमान ऊर्जामन्त्री खड्कामाथि पनि पदको दुरुपयोग गरी स्वार्थ जोडिएको काम गरेको आरोप लाग्ने गरेको छ । माओवादी केन्द्रका अध्यक्षमाथि पनि क्यान्टोन्मेन्ट लगायतका घोटालाको आरोप लाग्दै आएको छ ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुनअनुसार, गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको प्रमाण भेटिए भ्रष्टाचारको मुद्दा चलाउन सकिने व्यवस्था छ । यदि प्रमाण भेटिएन भने पनि गैरकानुनी सम्पत्तिको फाइल अख्तियारमा पठाइनेछ।

अहिलेको अवस्थामा देउवा दम्पती र अन्य नेताहरूले सम्पत्तिको वैध स्रोत पुष्टि गर्न नसके कानुनी फन्दामा पर्ने सम्भावना बढेको देखिन्छ । राहदानी रोक्काको तयारी र सम्पत्ति शुद्धीकरण छानबिन दुवै प्रक्रियाले राजनीतिक वृत्तमा तरंग ल्याएको छ।

यसैबीच माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दलका नेतालाई भ्रष्टाचार छानबिनका नाममा जेल हाल्ने चलखेल हुन सक्ने दाबी गरेका छन् ।

‘विभिन्न बहानामा अराजकता फैलाउने, संविधान खारेज गर्ने, अन्तरिम संविधान जारी गर्ने, लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरुलाई भ्रष्टाचार छानबिनका नाममा जेल हाल्ने, लोकतान्त्रिक राजनीतिक दलहरुलाई प्रतिबन्ध लगाउने र आफू अनुकूल निर्वाचन र परिणामबाट आफ्नो कठ्पुतली पात्रमार्फत् स्वार्थ सिद्ध गर्ने प्रतिगामी तथा प्रतिक्रियावादी चलखेलहरु बाँकी नै रहेका छन्,’ पार्टीको केन्द्रीय समिति बैठकमा पेश गरेको संक्षिप्त राजनीतिक तथा संगठनात्मक प्रस्तावा प्रचण्डले भनेका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज