काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का कार्यकारी अध्यक्ष युवराज अधिकारीमाथि आन्तरिक कर्मचारी समूहले गम्भीर आरोप लगाउँदै तत्काल कारबाहीको माग गरेका छन्।
‘जेनजी कर्मचारी’ समूहका अगुवाहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको निवेदनमा अधिकारीलाई तत्काल निलम्बन गरी छानबिन थाल्न आग्रह गरिएको छ। उक्त निवेदनको प्रतिलिपि मुख्य सचिव एकनारायण अर्याल र समूहका अगुवा सुदन गुरुङकहाँ समेत पठाइएको छ।
कर्मचारीहरुले अधिकारीले कार्यकाल सकिँदै गर्दा पनि निगमभित्र दोहनमूलक गतिविधि बढाएको आरोप लगाएका छन्। विशेष गरी वाइडबडी जहाजको इन्जिन मर्मतका लागि ८ अर्ब बराबरको प्रक्रिया पारदर्शी ढंगले अघि नबढाई रोल्स रोयस कम्पनीसँग गोप्य सम्झौता गर्न खोजेको, एनटीएमार्फत प्रक्रिया अपारदर्शी बनाएको तथा अन्तर्राष्ट्रिय टिकट बिक्रीमा निजी ट्राभल एजेन्सीसँग मिलेमतो गरेको दाबी गरिएको छ।
त्यस्तै, निगमका विभिन्न अन्तर्राष्ट्रिय स्टेशनमा जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्ति गर्दा करोडौं घोटाला भएको र जीएसए आवश्यक नभएको स्थानमा समेत जबर्जस्ती नियुक्ति गरिएको आरोप पनि लगाइएको छ।
कर्मचारीहरुले बुझाएको निवेदनमा एयरबस ३२० जहाज महिनौँसम्म मर्मत हुन नसक्दा निगमले यात्रुहरूलाई अन्य कम्पनीको विमानमार्फत पठाउनुपरेर करिब १ अर्ब रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ। त्यस्तै, निगमले भाडामा ल्याएको इन्जिन समयमै फिर्ता नगरिएको र पुरानो इन्जिन मर्मत नगर्दा दैनिक १० लाखभन्दा बढी घाटा भइरहेको दाबी गरिएको छ।
गत वर्ष एयरबस ३३० जहाजको नियमित सेड्युल चेक समयमा नगरिएकाले जहाज महिनौंसम्म ग्राउण्डेड हुनुपरेको र करोडौं नोक्सानी भएको, पाइलटहरूको व्यवस्थापनसमेत ढिलासुस्तीमा भएको जस्ता मुद्दा पनि उजागर गरिएको छ।
अध्यक्ष अधिकारीमाथि आफूनिकट व्यक्तिलाई करारमा नियुक्त गर्ने क्रममा समितिमा आफ्ना मान्छे राखी ठूलो रकम असुल गरेको र यसरी खुला रूपमा भ्रष्टाचार गरेको गम्भीर आरोपसमेत कर्मचारीले लगाएका छन्।
यसअघि पनि अधिकारीविरुद्ध वाइडबडी खरिद प्रकरण लगायतमा विवाद उठेको भए पनि अहिलेसम्म उनी कारबाहीको दायरामा आउन नसकेको भन्दै कर्मचारीहरुले तत्कालै कदम चाल्न सरकारलाई आग्रह गरेका छन्।
n

