काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद् विस्तार गर्दै पाँच जना नयाँ मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन्। राष्ट्रपतिको कार्यालयले सिफारिस स्वीकृत भइसकेको र नियुक्तिसहित शपथग्रहण आज हुने जानकारी दिएको छ।
सिफारिस भएका मन्त्रीहरूमा पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा। संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र कृषि विज्ञ डा। मदन परियार छन्।
प्रधानमन्त्री कार्कीले पूर्वन्यायाधीश सिन्हालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, उद्योग वाणिज्य तथा आपूर्ति र कानुन मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेकी छिन्। यसअघि कानुन मन्त्रालय गृहमन्त्री ओमप्रकाश अर्यालले सम्हालिरहेका थिए।
अतिरिक्त स्वास्थ्य सचिवको जिम्मेवारी सम्हाल्दै आएकी डा। मिश्रालाई स्वास्थ्यमन्त्रीमा पठाउने तयारी गरिएको छ। मन्त्री बन्ने सम्भावना देखिएपछि उनले पदबाट राजीनामा दिएकी थिइन्।
पत्रकार खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइनेछ। दुई दशकभन्दा बढी समय पत्रकारितामा बिताएका खरेल इमेज टिभीका समाचार प्रमुखसमेत रहिसकेका छन्।
कृषि क्षेत्रमा लामो अनुभव बटुलेका डा। मदन परियारलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय जिम्मा दिइने भएको छ।
त्यस्तै, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक वैज्ञानिक महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सुम्पिने निर्णय भएको छ। पुनले ग्रामीण क्षेत्रमा ताररहित इन्टरनेट विस्तारदेखि औजार तथा प्रविधि विकासमा पुर्याएको योगदानका लागि अन्तर्राष्ट्रिय म्यागसेसे पुरस्कारसम्म पाइसकेका छन्।
प्रधानमन्त्री कार्कीको समूहभित्रको गहन छलफलपछि गरिएको यो सिफारिसलाई सरकारको कार्यगत गतिशीलता बढाउने प्रयासका रूपमा हेरिएको छ।

