विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिलाउन गृहमन्त्री अर्यालको पहल

काठमाडौँ । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने वातावरण बनाउन आफू गम्भीर रहेको बताएका छन्।

बिहीबार निर्वाचन आयोगमा भएको छलफलमा सहभागी हुँदै मन्त्री अर्यालले सर्वोच्च अदालतले आदेश दिए पनि अहिलेसम्म कार्यान्वयनमा ढिलाइ भएको स्मरण गराउँदै यसपटक भने सम्भव बनाउनुपर्नेमा जोड दिए।

उनका अनुसार समानुपातिक प्रणालीमार्फत भए पनि परदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउनुपर्ने माग बलियो बन्दै गएको छ। उनले भने, “विदेशमा रहेका नेपालीले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत भए पनि मतदान गर्न पाउनैपर्छ। सर्वोच्चको आदेशलाई कार्यान्वयन गर्न ढिलाइ भएको छ, तर यसपटक सम्भव बनाउन मेरो पहल रहनेछ।”

मन्त्री अर्यालले प्राविधिक चुनौती भएका मुलुकमा पनि जहाँ सम्भव छ त्यहाँ मतदानको व्यवस्था गर्न प्रयास गर्ने स्पष्ट संकेत दिए। उनले आवश्यक परे दूतावासमार्फत प्रविधिको प्रयोग गरेर मतदान प्रक्रिया अघि बढाउन सकिने सुझाव पनि दिए।

सम्बन्धित समाचार

ताजा न्यूज