काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको प्रहरी हस्तक्षेप तथा धरपकडका घटनाप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको रास्वपाको सचिवालय बैठकले समाचार संकलन र सम्पादनको विषयलाई लिएर पत्रकारहरूलाई नियन्त्रणमा लिने, सोधपुछ गर्ने तथा समाचार कक्ष (न्यूजरुम) मा प्रहरी प्रवेश गरी भय सिर्जना गर्ने कार्यको तीव्र भत्सर्ना गरेको छ। बैठकले यी घटनाहरूको निष्पक्ष छानबिन गरी संलग्नलाई कानुनको दायरामा ल्याउन सरकारलाई स्पष्ट निर्देशन दिएको छ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै रास्वपाका प्रवक्ता जगदीश खरेलले प्रेस स्वतन्त्रता विरोधी कुनै पनि गतिविधि स्वीकार्य नहुने बताए। “पत्रकारमाथि भएको सोधपुछ, धरपकड र समाचार कक्षमा भएको प्रहरी प्रवेश कसको निर्देशनमा र किन भयो भन्ने विषयमा सरकारले अविलम्ब छानबिन गर्नुपर्छ,” प्रवक्ता खरेलले भने, “यस्ता घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारले कुनै ढिलासुस्ती वा सम्झौता गर्नु हुँदैन।”
रास्वपाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन र मानव अधिकारको रक्षाका लागि आफ्नो प्रतिबद्धता दोहोर्याएको छ। संविधानले प्रदान गरेको मौलिक अधिकारको सम्मान गर्दै आगामी दिनमा समाचार लेखेकै आधारमा कुनै पनि पत्रकार, सम्पादक वा सञ्चारगृहले यस्तो त्रासदिपूर्ण अवस्था झेल्नु नपर्ने वातावरण मिलाउनसमेत रास्वपाले सरकारको ध्यानाकर्षण गराएको छ।

