काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) द्वारा नियन्त्रणमा लिइएका सम्पूर्ण पत्रकारहरू रिहा भएका छन्।
सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत पक्राउ परेका सबै पत्रकार रिहा भइसकेको जानकारी दिँदै प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। सञ्चारमन्त्री तिमिल्सिनाले लेखेका छन्, “पक्राउ परेका सबै पत्रकार रिहा भएका छन्। सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ। प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन्।”
यसअघि, नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डिएनए खबरका प्रधान सम्पादक धीरज बस्नेत र मोटिभेट न्युजका प्रधान सम्पादक शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। साथै, नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीलाई पक्राउ गर्न प्रहरी टोली करिब साढे दुई घण्टा पत्रिकाको कार्यालय पुगेर फर्किएको थियो।
समाचारको स्रोत खोल्न दबाब दिने उद्देश्यले न्युजरुमबाटै नियन्त्रणमा लिइएका नेपाल प्रेसका पत्रकार सुवेदीलाई ब्यूरोले केही समयको सोधपुछपछि छाडेको हो। उक्त प्रकरणमा नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेल र अध्यक्ष विन्दुराज लम्साललाई पनि ब्यूरोमा बोलाएर सोधपुछ गरिएको थियो। प्रधान सम्पादक पौडेलले प्रकाशित समाचारको सम्पूर्ण जिम्मेवारी आफूले लिने तर समाचारको स्रोत कुनै पनि हालतमा नखोल्ने अडान लिएपछि प्रहरी सुवेदीलाई रिहा गर्न तयार भएको थियो।
यसैबीच, प्रधानमन्त्रीको सचिवालयले भने पत्रकार पक्राउको विषयमा प्रधानमन्त्री कार्यालयलाई कुनै जानकारी नदिइएको जनाएको छ। प्रधानमन्त्रीका प्रेसविज्ञ दीपा दाहालका अनुसार घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्रीले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो।

