काठमाडौँ । समाचार कक्षमै प्रवेश गरी विना पक्राउ पूर्जी र कानुनी आधार पत्रकारहरूलाई नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ। काउन्सिलले एक विज्ञप्ति जारी गर्दै प्रहरीको उक्त कदम प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथिको गम्भीर आघात भएको भन्दै आपत्ति प्रकट गरेको छ।
शुक्रबार नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका धीरज बस्नेत र मोटिभेट न्युजका शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ। साथै, नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोसाका प्रहरी टोली कार्यालयमै पुगेको थियो। सरकारी कार्यालय समय सकिएलगत्तै र लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि पक्राउको स्पष्ट कारण, जाहेरी तथा अदालतको अनुमतिबिना नै यसरी पत्रकार समातिनु गम्भीर चिन्ताको विषय भएको काउन्सिलको भनाइ छ।
प्रहरी प्रधान कार्यालयको पछिल्लो विज्ञप्तिको पृष्ठभूमिमा घटेको यस घटनाबारे बोल्दै काउन्सिलले प्रकाशित समाचार सामग्रीप्रति कुनै असहमति वा उजुरी भए त्यसको छानबिन र निरूपण गर्ने वैधानिक निकाय प्रेस काउन्सिल नै रहेको स्मरण गराएको छ। समाचारकै आधारमा सोझै प्रहरी परिचालन गर्नुको सट्टा स्थापित कानुनी विधि र प्रक्रिया अवलम्बन गर्न नेपाल सरकार तथा प्रहरी प्रशासनलाई आग्रह गरिएको छ।
प्रेस काउन्सिलले नियन्त्रणमा लिइएका पत्रकारहरूको स्थिति र पक्राउको कानुनी आधार तुरुन्त सार्वजनिक गर्न तथा कानुनी आधार पुष्टि हुन नसके उनीहरूलाई तत्काल रिहा गर्न जोडदार माग गरेको छ। यसका साथै काउन्सिलले सम्पूर्ण पत्रकार तथा सञ्चारमाध्यमहरूलाई पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै सत्यतथ्यमा आधारित पत्रकारिता गर्न समेत अपिल गरेको छ।
p

