काठमाडौं । काठमाडौंका विभिन्न सञ्चारमाध्यमका कार्यालयमा पुगेर प्रहरीले पत्रकारहरूको धरपकड तीव्र पारेको छ। शुक्रबार प्रहरी टोलीले तीन जना पत्रकारलाई नियन्त्रणमा लिएको छ भने अन्य कम्तीमा तीन जना पत्रकारको खोजी जारी राखेको छ।
पक्राउ पर्नेमा नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डिएनए खबरका प्रधान सम्पादक धीरज बस्नेत र मोटिभेट न्युजका प्रधान सम्पादक शोभराज बराल रहेका छन्।
यसैगरी प्रहरीले दियोपोस्ट डटकमका प्रधान सम्पादक सुदीप विश्वकर्मा, सम्पादक रिता बुढाथोकी र नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीको खोजी गरिरहेको छ। प्रहरी टोलीले केही सञ्चारमाध्यमको कार्यालयमै पुगेर पत्रकारहरूलाई नियन्त्रणमा लिएको छ भने अन्य सञ्चारगृहमा पुगेर खोजी सुरु गरेको हो।
शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट सादा पोसाकमा खटिएको टोलीले नेपाल प्रेस डटकमको बानेश्वरस्थित कार्यालयमा कार्यरत रहेकै अवस्थामा पत्रकार सुवेदीलाई नियन्त्रणमा लिएको थियो। पक्राउ पश्चात् उनलाई साइबर ब्युरोमा बुझाइएको छ। साइबर ब्युरोको पत्रका आधारमा सुवेदीलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। तर, उनीमाथि लगाइएको आरोप र पक्राउको कानुनी आधारबारे हालसम्म विस्तृत जानकारी गराइएको छैन।
यस्तै, डिएनए खबरका प्रधान सम्पादक धीरज बस्नेतलाई भने प्रहरीले सुरुमा ‘इसेवा नम्बर’को विषयमा सोधपुछ गर्नुछ भन्दै बोलाएको थियो। सामान्य सोधपुछका लागि भन्दै प्रहरी कार्यालय पुगेका बस्नेतलाई उतै नियन्त्रणमा राखिएको हो।
पत्रकार सुवेदीको पक्राउलगत्तै नेपाल प्रेसका सम्पादक मातृका पौडेल र अध्यक्ष बिन्दु लम्साललाई पनि साइबर ब्युरोले झिकाएको छ। ब्युरोमा उपस्थित भएका सम्पादक पौडेलले प्रहरीको यो कदमप्रति कडा आपत्ति जनाएका छन्।
“समाचारको स्रोत पत्रकारको मृत्युसँगै समाप्त हुन्छ,” सम्पादक पौडेलले भने, “बुट, धम्की र हतकडीको डरले स्रोतमाथि विश्वासघात गर्न सकिँदैन। हाम्रो आचारसंहिता र विश्वव्यापी नैतिकताले पनि यसको अनुमति दिँदैन।”
आफ्नो पेसा र कर्मप्रति अविचलित रहँदै सबै कठिनाइको सामना गर्ने प्रतिबद्धता जनाउँदै उनले यस घडीमा चासो र ऐक्यबद्धता जनाउने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन्।

