काठमाडौं । रामेछाप कारागारमा कैदीबन्दीको आन्दोलन रोक्ने क्रममा नेपाली सेनाले गोली प्रहार गर्दा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कैदीबन्दीहरूले कारागार बाहिर निस्कन पाउनुपर्ने भन्दै आन्दोलन गरेका थिए। रोक्ने क्रममा झडप भई गोली चलाउनुपरेको जनाएको छ।
यसैबीच, देशका अन्य कारागारहरूमा समेत कैदीबन्दी भाग्ने क्रम बढेको छ। नख्खु कारागार पूरै खाली भएको छ भने केन्द्रीय कारागारबाट पनि धेरै कैदी फरार भएका छन्।
सप्तरीको राजविराज कारागारबाट भाग्ने प्रयास गरेका १९२ जना कैदीलाई सेनाले नियन्त्रणमा लिएको छ। कञ्चनपुरमा भागेका ७ जनालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएर नेपाली सेनालाई बुझाएको छ। त्यस्तै, १ जना कैदीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीले बुझाएको र १२ जना आफैं कारागार फर्किएको जानकारी आएको छ।
सुरक्षा निकायहरूले देशभर फरार कैदीहरूको खोजी तीव्र पारेका छन्।