काठमाडौं । नेपाली कांग्रेसले सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्यामा संलग्न अभियुक्त देवेन्द्र यादवको पार्टी सदस्यता खारेज गरेको छ। यादव प्रहरीको फरार सूचीमा रहेको र मुद्दा महोत्तरी जिल्ला अदालतमा मुल्तवीमा रहेको तथ्य सार्वजनिक भएपछि शुक्रबार उनको सदस्यता खोसिएको हो।
केवल एक दिनअगाडि मात्र पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्माले विशेष कार्यक्रममार्फत यादवलाई कांग्रेसमा स्वागत गरेका थिए। कार्यक्रममा सहमहामन्त्री महेन्द्र यादव, महोत्तरी ४ का सांसद महेन्द्रकुमार राय, कांग्रेस मधेश प्रदेश सभापति कृष्ण यादव र महोत्तरी सभापति नागेश्वर यादवको समेत उपस्थिति थियो।
२०७२ साल भदौ २५ गतेको मधेश आन्दोलनका क्रममा असई विकको आन्दोलनकारीद्वारा हत्या गरिएको थियो। तीन वर्षपछि २०७५ साउन २८ गते २८ जनाविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो। महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते विक हत्यामा संलग्न ७ जनालाई जन्मकैदको सजाय सुनाएको छ। यस सम्बन्धि समाचार नेपाल प्रेसले ब्रेक गरेको थियो ।