काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका निर्देशक सचिन्द्रकुमार यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार यादवले आफ्नो आय स्रोत नखुलेको ९६ लाख ८५ हजार ५ सय ५३ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेका छन्। यसबापत कैद सजाय, समान रकम बराबरको जरिवाना र सो सम्पत्ति जफत गर्न माग गरिएको छ।
यादव २०६६ जेठ २४ गते सेवा प्रवेश गरेका हुन्। आयोगले २०७९ साउन २९ सम्मको अवधिसम्मको उनको चल-अचल सम्पत्तिको अनुसन्धान गर्दा करिब २ करोड ६८ लाख रुपैयाँ बराबरको सम्पत्ति भेटिएको थियो। तर, उक्त अवधिमा यादवको कुल खर्च र लगानी ३ करोड ६५ लाख रुपैयाँ नाघेको पाइएको आयोगको दाबी छ। यसरी स्रोत नखुलेको रकम बिगोका रूपमा निर्धारण गरिएको हो।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, यादवकी पत्नी आशाकुमारी यादवको नाममा समेत स्रोत नखुलेको सम्पत्ति फेला परेकाले उनीलाई पनि सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ।