काठमाडौं । कानुनका विद्यार्थी तथा सूचनाको हकका अभियन्ता विवेक चौधरीले राष्ट्रिय सूचना आयोगलाई सूचना प्रवाह पारदर्शी, प्रभावकारी र जनमैत्री बनाउन दुई महत्वपूर्ण डिजिटल सुधार अविलम्ब लागू गर्न माग गरेका छन्। उनले यस विषयमा आयोगको कार्यालय, त्रिपुरेश्वरमा औपचारिक ध्यानाकर्षण पत्र दर्ता गराएका छन्।
चौधरीले आयोगलाई सुझाव दिएका दुई मुख्य सुधारहरू हुन्
१. पुनरावेदनसम्बन्धी आदेशहरू आयोगको वेबसाइट र सामाजिक सञ्जाल (फेसबुक) मा नियमित प्रकाशन गर्नु।
२. पुनरावेदन र निवेदनको प्रगति सम्बन्धी जानकारी पुनरावेदक तथा निवेदकलाई SMS प्रणालीमार्फत समयमै जानकारी गराउनु।
उनले ध्यानाकर्षण पत्रमा उल्लेख गरेअनुसार, डिजिटल युगमा सूचना अधिकारको व्यवहारिक कार्यान्वयनका लागि प्रविधिमैत्री उपाय अनिवार्य भइसकेको छ। “सूचनाको सही समयमा प्राप्ति नै वास्तविक अधिकार हो,” भन्दै उनले SMS प्रणालीमार्फत पुनरावेदनको प्रगति बुझ्न सक्ने व्यवस्था हुनुपर्नेमा जोड दिएका छन्।
चौधरीले यसअघि पनि ईमेलमार्फत सूचना प्राप्तिका लागि आयोगमा निवेदन दिएका थिए। तर, हालसम्म कुनै सुनुवाइ नभएको भन्दै उनले यस पटक आयोगले पनि चासो नदेखाए संविधान र कानुनअनुसार अन्य वैधानिक विकल्प रोज्न बाध्य हुने चेतावनीसमेत दिएका छन्।
उनको भनाइमा, आयोगमा दर्ता हुने पुनरावेदनहरूमा आयोगले लिखित आदेश जारी गरे पनि सम्बन्धित व्यक्तिलाई त्यसको जानकारी समयमा नपुग्दा अनावश्यक रूपमा नयाँ निवेदनहरू दर्ता भइरहेका छन्। तर ती निवेदनको सुनुवाइ नगरी मनपरी निर्णयका आधारमा पुनरावेदन खारेज गरिँदै आएको गम्भीर आरोप पनि उनले उठाएका छन्।
चौधरीले ध्यानाकर्षण पत्रमा सर्वोच्च अदालत र उच्च अदालतहरूले SMS प्रणालीमार्फत मुद्दाको पेसी जानकारी उपलब्ध गराउने अभ्यास सुरु गरिसकेको उदाहरण दिँदै सूचना आयोगले पनि अब ढिला नगरी यस्तो अभ्यास अपनाउनुपर्ने बताए।
“Accountable Government is the Best Government” भन्ने मूल मन्त्र उद्धृत गर्दै उनले सूचना आयोगले राष्ट्रव्यापी रूपमा नागरिकसँग प्रत्यक्ष सम्पर्क कायम गर्ने ठोस प्रयास गर्नु आवश्यक रहेको उल्लेख गरेका छन्।
आयोगले चौधरीको मागलाई के कति प्राथमिकतामा लिन्छ भन्ने विषयमा आमनागरिक र सूचना अधिकार अभियन्ताहरूको निगरानी रहने स्पष्ट संकेत दिइएको छ।\