अमेरिकाको प्रसिद्ध न्यायाधीश फ्राङ्क क्याप्रियोको ८८ वर्षको उमेरमा निधनसँगै विश्वभर उनका मानवीय निर्णयहरूको चर्चा फेरि चुलिएको छ। Caught in Providence टेलिभिजन कार्यक्रममार्फत उनले देखाएका सहानुभूतिपूर्ण निर्णयहरूले देखाएको थियो, न्याय कठोर नियम र कानूनी शब्दजालमा मात्र सीमित हुनु हुँदैन बरु दया, करुणा र सहज पहुँचसँग जोडिनुपर्छ। क्याप्रियोको अदालतमा नियमहरू थिए । तर ती नियमहरू मान्छेका भावनासँग जोडिएका हुन्थे। न्यायिक निर्णयमा उनले अपनाउने उदार र भावनात्मक कदमले न्याय कठोर तरिकाले होइन सहानुभूतिका आँखाले पनि प्रवाह गर्न सकिन्छ भन्ने कुरालाई पुष्टि गरेको थियो। उनका भिडियोहरूमा देखिने सरल हाँसो र आत्मीय व्यवहारले उनलाई Caught in Providence कार्यक्रममार्फत अन्तर्राष्ट्रिय लोकप्रियता दिलायो उनका भिडियो सामाजिक सञ्जालमा हेर्नेहरूले उनलाई “दयालु न्यायाधीश”को संज्ञा दिए।
क्याप्रियोको अदालत साधारण मानिसको अदालत थियो। सानो गल्तीमा जरिवाना कटौती गर्नु, आर्थिक अवस्थाले तिर्न नसक्नेको जरिवाना माफ गर्नु, बच्चाहरूसँग मिलेर उनका अभिभावकको मुद्दामा फैसला गरिनु जस्ता घटनाले उनलाई मानवीय न्यायको प्रतीक बनाए। उनका निर्णयहरूले कानून शासकको नभएर मानवताको सेवक हो भन्ने कुरालाई महत्त्व दिएको पाइन्छ ।
तर, जब हामी क्याप्रियोको मानवतावादी दृष्टिकोणलाई नेपालको न्याय प्रणालीसँग तुलना गर्छौँ, मन भारी हुन्छ। नेपालमा न्यायको पहुँच अझै सीमित छ। साधारण नागरिकका लागि अदालतमा सहज पहुँच अझै छैन । नेपालमा अहिलेसम्म पनि न्यायको ढोका सबैका लागि सहज र सरल बन्न सकेको छैन। नेपालमा सामान्य नागरिकले मुद्दा हाल्दा न्यायको अनुभूति गर्नु त टाढाको कुरा, वर्षौँसम्म फैसला नआउँदा पीडा सहेर बस्न बाध्य हुनुपर्छ। कतिपय मुद्दा त दशकमै पनि छिनोफानो हुँदैनन्। कतिपय पीडितहरू मुद्दा लड्दै आर्थिक, सामाजिक र मानसिक रूपमा थकित हुन्छन् । तर न्यायको अनुभूति गर्न पाउँदैनन्। कतिपय मुद्दा त बर्षाैसम्म पनि किनारा लाग्दैनन्। मुद्दा किनारा नलाग्दै कतिपय नागरिक मृत्युवरण गरिसक्छन् । कतिपय सार्वजनिक चासोका विषय त्यसको औचित्य समाप्त भइसक्दा पनि किनारा लाग्दैनन् । यी र यस्ता धेरै उदाहरणहरू नेपालको न्यायालयका साझा र सामान्य विषय नै बनिसकेका छन् ।
नेपालमा न्याय राजनीतिक प्रभावको छायामा बाँधिएको छ। न्यायाधीशको नियुक्ति प्रायः राजनीतिक शक्ति सन्तुलनको आधारमा हुने गरेको छ । यो सामान्य जस्तै बनिसकेको छ । न्यायाधीशले निष्पक्ष न्याय दिन नसकेको भन्दै थुप्रै उजुरीहरू न्याय परिषद्मामा परिरहेका छन् । यस्ता गुनासाहरू पनि समयमै निक्र्याेल भएको पाइँदैन । यस्तो वातावरणमा निष्पक्ष र नागरिकमैत्री न्याय पाउनु अधिकांशको लागि सपना जस्तै बनेको छ।
फ्राङ्क क्याप्रियोले भनेका थिए, “सरकारी निकायहरू दयालुता, निष्पक्षता र करुणासहित चलाउन सकिन्छ।” उनले आफ्नो यो भनाइलाई व्यवहारिक रूपमै लागु गरेर देखाए । सरल मानवीय दृष्टिकोणले अदालतमा पनि विश्वास र आत्मीयता जगाउन सकिन्छ। तर नेपालको प्रणाली अझै पनि जटिल प्रक्रियामा अल्झिरहेको छ । जहाँ सामान्य नागरिकले वकिलको शुल्क समेत तिर्न नसक्ने अवस्था बनेको छ । न्याय धनीले खेल्ने खेल बनिरहेको छ ।
नेपाललाई आज फ्राङ्क क्याप्रियोको जस्तै न्यायलाई पहुँचयोग्य, छिटो र मानव केन्द्रित बनाउने करुणासहितको दृष्टिकोणको खाँचो छ । यदि हामीले पारदर्शी प्रणाली, पेसागत योग्यतामा आधारित नियुक्ति र सेवा भावनासहितको प्रशासनिक सुधारलाई प्राथमिकतामा राख्यौँ भने नेपालमा पनि न्यायालयलाई नागरिकमैत्री बनाउन सकिन्छ।
न्यायलाई कठोर र पहुँचविहीन राख्दा त्यो कमजोरको लागि सजाय मात्र बन्छ । तर न्यायमा करुणा मिसिँदा त्यो समाजको आशा बन्न सक्छ भन्ने कुरा तर क्याप्रियोको जीवनले सिकाउँछ ।
नेपालका अदालतहरूमा अझै पनि क्याप्रियोजस्तो आत्मीयता र मानवता मिसिएको निर्णयको कमी छ। जबसम्म राजनीतिक प्रभाव हटाइँदैन र प्रक्रियागत सुधार ल्याइँदैन, तबसम्म “न्याय सबैका लागि” भन्ने आदर्श नारा मात्रै रहनेछ ।

