मोहले हामीलाई घेरेको छ । अभिमानले अन्धो बनाएको छ । लोभले हाम्रो वृत्तिलाई बिगारी रहेको छ । मदले हामीलाई उन्मत्त बनाइदिएको छ । यसले गर्दा नै हामी अहङ्कार बल ,दर्प काम क्रोधहरूकै आश्रय लिएर न्याय सँग द्वेष गरिरहेका छौँ । यो आसुरी भावको परिणाम दुःख,अशान्ति अन्याय सिवाय अरू के हुन सक्छ । श्री १००८ स्वामी खप्तड बाबा…
अदालतलाई सभ्यताको प्रथम सूचक मानिन्छ Judiciary is the First basic Standers of human civilization । यस कारण यसले सभ्यता वा न्यायको उलङ्घनमा कानुनी एव संवैधानिक उपचार मात्र दिँदैन सभ्यता तथा न्यायको जागरण एवं पुनर्जागरण पनि ल्याउँछ भनिन्छ । यसैले न्यायको प्रवर्धनको मान्यता प्राचीन ग्रीक सभ्यताबाट नै सुरु भएको पाइन्छ । उक्त कुरा प्लेटो तथा तत्कालीन ग्रीक दार्शनिकहरूको न्याय सम्बन्धी मान्यताबाट थाह पाउन सकिन्छ । प्लेटोको भनाईमा न्याय व्यक्ति तथा राज्य दुवैको सरोकारको कुरा हो । सामाजिक न्यायको अस्थित्व त्यतीबेला मात्र सम्भव हुन्छ जब प्रत्येक मानिसले उसको स्वभावले गर्न उचित हुने कार्य गर्दछ र अर्को व्यक्तिको कार्य माथि हस्तक्षेप गर्दैन । प्लेटोले यो सिद्धान्त राज्य सञ्चालनको पुष्टि गर्ने क्रममा बत्ताएका थिए । तत्कालीन ग्रीक दार्शनिकहरूको भनाई थियो संसार विवेकद्वारा सञ्चालन हुन्छ त्यसैले मानवीय चेतना एवं विवेक नै ईश्वरीय चेतनाको अंश हो । यो कुरा दार्शनिक सुकारतको ब्रह्माण्ड सम्बन्धी नैतिकता द्वारा शासित विश्व भन्ने दार्शनिक दृष्टिकोणबाट पनि पुष्टि हुन्छ । यस कारण प्लेटोलाई समूह भावनाको सिद्धान्त Group minded theory का प्रवर्द्धक मानिन्छ । सामूहिक भावना, एकता, र अस्थित्वको माध्यमबाट नै समाजमा न्याय स्थापना हुन सक्छ भन्ने मान्यता प्लेटोले स्थापित गरेका हुन ।
तर अदालती न्याय भनेको कसैको विवादमा तेस्रो व्यक्तिको ज्ञान क्षमता एवं विवेक प्रयोग हुने अवस्था हो । विवादका पक्ष तेस्रो व्यक्तिको ज्ञान क्षमता एवं विवेक मान्न बाध्य हुन्छन् । यसै तेस्रो व्यक्तिको निर्णयलाई न्याय भनिन्छ । नेपालका पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको भनाई अनुसार तेस्रो व्यक्तिको निर्णयले १५% जनताले मात्र अदालतबाट न्याय पाएको कुरा बताउनु भएको थियो भने निश्चयवादी कानुनका अभियन्ता बेन्थमले कानुन बहुसङ्ख्यक जनताको न्यायको लागि हुनु पर्छ भन्दै कानुन सबै जनताको हितको लागि काम गर्न नसक्ने बत्ताउनु भएको छ । पुजिवादी वा बलिया उपल्लो वर्गले कानुन बनाउने हुँदा तल्ला तहको पहुँच नभएको वर्गको हितमा कानुन नबन्न पनि सक्छ । कानुनको यान्त्रिकताले मात्र न्याय नपर्न सक्ने कुरा अदालतका विभिन्न नजिरहरूमा समेत प्रस्ट पारिसकेको छ । यस कारण विद्धान अगष्टाइन ले भने मानिसको संस्कारहीनता वा पतनबाट नै राज्यको जन्म भएको हो भन्दै राज्य र कानुनलाई अपवित्र मानेका हुन । भने जीत हारको न्यायले दुवै पक्ष ले उक्त फैसलालाई स्वीकारी आपसी समझदारी कायम गरेमा बाहेक अन्य अवस्थामा आपसी वैमन्स्यता सहजै हट्दैन ।
प्रकृतिको सौम्य शान्त समान निष्पक्ष कानुन पूर्ण अवस्थामा छदा छदै मानिसले नै मानिसको लागि कानुन बनाएर लागु गर्नु आफैमा विडम्बनापूर्ण अवस्था हो । यो हामी मानव जातीका लागि एक दुखद अवस्था पनि हो । यसै दुखद विडम्बनापूर्ण अवस्थाबाट त्राण पाउन अन्यायका,स्वरूपको कारण सम्बन्धी अवस्था सम्बोधन हुने आपसी जनचेतना जगाई न्यायको प्रबद्धनको अवस्थामा लैजानु आवश्यक भएको हो । यसबाट नै सही अर्थको कानुनी राज्यको उद्देश्य परिपूर्ति हुन सक्छ भन्ने वर्तमान critical legal studies को पनि धारणा रहेको छ । यही कुरा बुझेर नै अदालतको माध्यमले कानुन बमोजिम खास न्याय पत्ता लगाएकोमा पनि शङ्का लागि उक्त कानुन बमोजिमको न्यायमा असत्यको पनि अंश हुने सम्झी अदालतको न्यायमा असत्य वा पापको पनि गंघ हुने भएकोले तत्कालीन अवस्थामा पृथ्वीनारायण शाहले अदालतबाट आएको दण्ड सजायको रकम मूल ढुकुटीमा नराखी जोगी सन्यासी लाई बाडने व्यवस्था मिलाउने चलन यही कारणले नै चलाएका थिए होलान् । यसरी तत्कालीन अवस्थामा पृथ्वीनारायण शाह न्यायिक वा न्याय को सवालमा कति संवेदनशील थिए भन्ने जनाउँदछ ।
प्राचीन कालका युनानीहरूले पनि न्यायलाई सक्रिय गुण Virtue of action भनेका थिए । प्लेटोले पनि न्याय आत्माको गुण र अन्याय यसको अभिसाप भनी न्यायको तत्त्व माथि प्रकाश पारेका थिए । न्याय भनेको नै सद्भावना र कानुन पालना गर्ने इच्छा शक्ति भएको कारणबाट नै न्याय सर्वोच्च बस्तु भएको हो भनेका थिए । मानव सभ्यताको विकास को क्रममा मानिसहरूले एक अर्का प्रतिको सद्भावना सहअस्तित्व र कानुन पालना गर्ने इच्छा शक्ति भएको कारणले नै न्याय सर्वोच्च बस्तु भएको हो अन्य कारणले भएको होइन । यसै कारण प्लेटोले आफ्नो युगमा राजनीतिलाई नित शास्त्रको कठपुतली बनाउन सफल भएका थिए । यसैले तत्कालीन अवस्थामा नागरिक जीवनलाई एक आदर्श जीवन मानिएको थियो । राज्यलाई बिस्तारवादमा नलगी The ideal of polls । सानो राज्यमा नागरिकको जीवनका लागि आदर्श जीवनलाई समन्जस्यता कायम गरेका थिए । यसैले प्लेटोले भनेका थिए नागरिकहरूमा आफ्नो कर्तव्यको ज्ञान हुनु नै राज्यको न्याय हो । Justice of the state if the citizen’s sense of duty राज्यको न्याय तब मात्रै सम्भव छ जब प्रत्येक वर्ण वर्ग आफ्नो कार्य सुचारु रूपले गर्दछ । यही न्यायिक भावनाको कारणले नै मानिस एक सूत्रमा बाँधिएका छन् । Justice for plato is at once a part of human virtue and be bond which joins men together in state.
यस कारणले नै प्लेटोले न्यायलाई २ भागमा विभाजन गरी आन्तरिक तत्त्वको रूपमा न्याय भनेको व्यक्तिको सद्गुण हो भने बाह्य तत्त्वको रूपमा न्याय भनेको सामाजिक ऐक्यबद्धता Social solidarity लाई मानेको हो । यसैले विद्धान Dennings ले पनि न्याय सामूहिक एकता एवं मानिसको चरित्रमा सदव्यावहारको भावना जागृत गराउँछ भनी बताएका छन् । Justice was described as the regulative virtue which produces a general harmony in character and general good in conduct. कानुन लाई अपवित्र चिज हो भन्नु पर्ने कारण पनि यही हो । मानिस पातकी अवस्थामा गएकाले त्यसलाई सफा गर्ने कानुनलाई पनि अपवित्र मानिएकोले आपसी सद्भावमा आधारित न्याय नै सर्वोत्कृष्ट न्याय भएको हो भने कानुन बमोजिम प्राप्त हुने न्याय अपवित्र हुन सक्छ भनिएको हो । किनकि मुद्दा खेप्न सक्ने हैसियतका आधारमा पनि कसैलाई पराजित वा एक्लाइएको हुन सक्छ । निर्दोषलाई जेलमा कैद गरिएको वा मारिएको हुन सक्छ ।
वर्तमान समयमा अदालतमा कानूनी सङ्घर्ष गर्न निकै झन्झटिलो एवं कष्टकर भएको छ । गरिब एवं असहाय का कारण धेरै मानिसले राम्रा वकिल राख्न पाउदैनन । उनीहरूका हकमा अदालती लडाई लडिदिने कोही हुदैनन । यो विषपूर्ण समाजमा यस्तो देख्न र सुन्न अभ्यस्त भैसकेका छौँ । धनाढ्य र प्रभावशाली व्यक्ति धेरै पटक अपराध गरेर पनि बाच्न सफल भएका छन् । बलियाले पैसा एवं गुन्डाको चलखेलले पीडितलाई आफ्नो पक्षमा पारि बिचैमा मुद्दा छाडन समेत लगाएका उदाहरण पनि छन् । अदालती यातना सहनु भन्दा बिचैमा मुद्दा छाडेका उदाहरण छन् । कत्तिले त मुद्दा लड्दा लड्दै वकिलको फी तिर्न नसकी कर्मचारीको व्यवहार, लामो समय सम्मको मुद्दाको भार एवं,आफ्नो काममा असर परि आम्दानी घटेका कारण आत्महत्या सम्म गरेका छन् । अदालतमा न्याय माग्न जानु भनेको जीवन त्यही बिताउनु हो भन्ने सम्मको भान आम जनतामा पर्न थालेको छ । मुद्दाको पालो आउन बषौं लाग्छ, पालो आए पनि पेशी हट्छ, आफ्नो फेवरमा भएका न्यायाधीशमा पार्ने अनेक चलखेल हुन्छ, न्यायाधीशको अभाव लगायत अनेक चलाखीको परिबन्ध बनाएर पेशी स्थगित हुन्छ । अदालतमा बिचौलिया दलाल छन् भनी स्वयम अदालती प्रतिवेदनले नै बताइरहेको छ । कति न्यायाधीशमा न्यायको विचलन ,असक्षमता समेत देखिएको अवस्था छ । सर्वोच्च अदालतमा संविधानले व्यवस्था गरेको न्यायाधीश सङ्ख्या २१ को अनुपातमा ३५००० को हाराहारीमा मुद्दा रहनु आफैमा दुःखद कुरा हो । मुद्दाको समयमा पालो नआउँदा अदालतले तोकेको सजाय भन्दा बढी कैदमा बस्नु परेका उदाहरण थुप्रै छन् ।
देशको न्यायपालिका प्रमुख प्रधानन्यायाधीशको पेशी तोक्ने अधिकार माथि विश्वास नभएर मुद्दाको पेशी अटोमेसिनले तोक्ने परिपाटी बन्दैछ भने यस्तो देशको प्रधानन्यायाधीशको समेत बिश्वासहिनताको ठाउँबाट न्यायको लागि एक निरीह नागरिक कसरी न्यायको पहुँचमा पुग्न सक्छ ? यस सम्बन्धमा थप प्रकाश पार्दै पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठ को भनाई अहिले न्याय बलिया बाङ्गाको विषय मात्र भएको छ । गरिब गुरुवाले न्याय माग्न सक्ने ,भएको हकको दाबी गर्न सक्ने अवस्था नै छैन । प्रक्रिया झेल्न सक्ने क्षमता उ सँग छैन । त्यसलाई सहयोग गर्ने प्रणाली छैन । गरिबीको बारेमा कानुन बनेको छैन । गरिबी र कानुनको सम्बन्धलाई कसरी सम्बोधन गर्ने ? राजनीतिक सहमतिका आधारमा मात्र कानुनी राज्य सञ्चालन हुन सक्दैन ।यस कारण कानुनी राज्य जटिल मोडमा छ । कानुनी राज्य भनेको राजनीतिको अन्तिम निचोड हो । वरिष्ठ अधिवक्ता सतिषकृष्ण खरेल भन्छन् बलिया र प्रभावशाली व्यक्तिले मुद्दामा ढिलाइ हुने तौरतरिका रणनीतिक रूपमा प्रयोग गरी अनेक उपाय रचेर अलमल्याएको बताउँछन् । ढिलाइ केही पद्धतिगत एवं व्यवस्थापकीय कमजोरीका कारण हुने गरेको छ । जसको पहुँच कम छ, जालझेल एवं परिपन्च गर्न सक्दैन उसैमाथि थप चलखेल गरी मुद्दा ढिलाइ गरी निराश विवश तुल्याई आफ्नो पक्षमा मुद्दा पार्ने प्रवृत्ति पनि हाबी भएको छ । यस्तो परिस्थितिमा अदालती सुधारका अतिरिक्त सर्वोच्च अदालतमा न्याय प्रवर्धन महाशाखा गठन गरी जनताको माझमा न्यायको प्रवर्द्धनात्मक कार्यक्रम किन नलैजाने ? मानव अधिकार मौलिक स्वतन्त्रता कानुनको शासन एवं न्यायको सम्मान गर्नका लागि नागरिक एकता सम्बन्धी वैज्ञानिक एवं नैतिक कुराहरू शिक्षा तथा संस्कृतिको माध्यमबाट पाठ्यक्रम र पाठ्यपुस्तकमा समावेश गरी अध्ययन अनुसन्धान गर्नु न्यायपालिकाको दायित्व पनि हो ।