छाउपडी गोठ भत्काउने अभियानः कानून र परिवर्तन

देवराज इन्द्रले गरेको ब्रह्महत्या पापबाट मुक्त गर्न ब्रह्माजीले उक्त पापलाई चार भागमा विभाजन गरे। त्यो चार भागमध्ये एक भाग स्त्रीको रजमा राखियो र स्त्रीको रजलाई पाप मानिन थालियो। त्यसबाट मुक्त हुन महिलाले सप्तऋषिको पूजा गर्ने र सुनका गरगहना लगाउने चलन चल्यो। हरेक पटक नुहाउँदा सुनपानीले शुद्ध हुन्छिन् भनेर सुनका गहना लगाउने र सप्तऋषिको पूजा गरेमा पाप पखालिएर सौभाग्यवती हुन्छिन् भनेर खासगरी तीज पर्व महिलाले मात्र मनाउँछन्। एउटाले गरेको पाप अर्काको रजमा राखी उसैले पाप पराल्नु पर्ने धर्मशास्त्रको व्याख्या सुन्दै भोकै बसी पानी समेत नखाई सबै महिलाले सप्तऋषिको सामूहिक पूजा गर्छन्।

हाम्रो धर्मशास्त्रको यस्तै वचन छ भनी यसैलाई शिरोधार्य गरी धर्मशास्त्रको व्याख्या सुनाउँदै सदियौँदेखि यस्ता धेरै चलन संस्कारहरू हाम्रो समाजमा चलिआएका छन्। हाम्रो समाज बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय सद्भाव तथा विविधतायुक्त प्राकृतिक भौगोलिकताले भरिपूर्ण मुलुक भए पनि, शान्ति र ज्ञानका अग्रदूत गौतम बुद्ध र विश्वको सर्वोच्च शिखर सगरमाथाको नामले विश्वप्रसिद्ध भए पनि विभिन्न धर्म, संस्कृति, जात, भूगोल एवं वर्गभित्र रहेका धर्म-संस्कृति, संस्कार र परम्पराका खास शाश्वत मूल्य मान्यता विपरीतका अन्धविश्वास, रूढीबुढी, अज्ञानता जस्ता विकृतिजन्य तत्व संस्कारहरूले नेपाली मौलिकता लगायत आर्यन सभ्यताले रचना गरेको धर्म-संस्कृतिलाई नै सदियौँदेखि विकृत तुल्याउँदै आएका छन्।

इतिहासका विभिन्न कालखण्डमा शासक वर्ग लगायत विभिन्न सत्तापात्र सुधारकहरूले यस्ता विभिन्न जात-जाती र क्षेत्रमा विद्यमान रहेका धर्म, संस्कृति, संस्कार, रहनसहन लगायत परम्पराभित्रका विकृतिजन्य तत्वहरूलाई बदल्ने तथा नामेट गराउने प्रयास गरे पनि ती प्रयासहरूले पनि सफलता हासिल गर्न नसकी नेपाली समाज ती विकृतिजन्य तत्व संस्कारबाट प्रताडित भई आएको छ।

पाँचौँ शताब्दीमा राजा मानदेवले आफ्नी आमालाई सती जानबाट रोकेको, चौधौँ शताब्दीमा डोटेली राज्यका तत्कालीन राजा नागी मल्लले धामीझाँक्रीलाई विभिन्न कठोर परीक्षा गर्न लगाएको, महिला अधिकारका लागि योगमायाले गर्न खोजेको सुधार, बालगुरु षडानन्दले गर्न खोजेको सुधार, लिच्छवीकालका राजा जयस्थिति मल्लले संसारमै पहिलोपल्ट लिखित रूपमा एकीकृत मानिएको न्यायविकासिनी ऐन बनाई त्यसमार्फत गर्न खोजेको सुधार, मुलुकी ऐन १९१० मा पनि सतीप्रथा लगायत केही सुधार गर्न खोजिए पनि ती प्रयासहरू पूर्णतामा आधारित नभएर वा शाश्वत मूल्य मान्यता अनुरूप नभएर वा सुधारका प्रयास सफल बनाउने संयन्त्र नभएर वा दिन खोजिएको सन्देशको सही प्रचार नभएर वा अन्य विभिन्न कारणले ती विकृति हटाउने प्रयासले पूर्ण सफलता पाउन सकेनन्।

नेपालमा हजारौँ वर्षदेखि चलिआएको सतीप्रथा वि.सं. १९८२ सालमा कानून निर्माण गरी पूर्णतः हटाउने प्रयास भई अहिले लगभग अन्त्य भइसकेको अवस्थामा छ भने वि.सं. २०२० सालमा मात्र पूर्णतः मुलुकी ऐनमा संशोधन गरी हटाइएको जातीय छुवाछुतको अन्त्य अहिलेसम्म हुन सकेको छैन। यसको अर्थ हो — कानूनले मात्रै तत्काल परिवर्तन सम्भव छैन भन्ने यो एउटा उदाहरण हो।

बोक्सीप्रथा, बलिप्रथा, छुवाछुत प्रथा, छाउपडी प्रथा, दाइजो प्रथा, धामीझाँक्री प्रथा, वेश्यावृत्ति प्रथा, बालविवाह प्रथा, देउकी प्रथा जस्ता हाम्रो शाश्वत संस्कृति रीतिपरम्परामाथि प्रत्यक्ष प्रभाव पार्ने कुप्रथाहरू अहिले पनि छताछुल्ल छरिएका छन् भने देउकी प्रथा, झुमा प्रथा, बहुपति प्रथा जस्ता केही प्रथाहरू केही अन्त्यको अवस्थामा छन्।

यस्तै छताछुल्ल अवस्थामा रहेको कुप्रथामध्ये एक हो छाउपडी प्रथा। छाउपडी प्रथा नछुने भएका महिलालाई न्यूनतम मानवीय व्यवहारबाट वञ्चित गरी अलग्गै एकान्त ठाउँमा राख्ने अन्ध सोचबाट चलेको स्पष्ट छ। त्यसरी एकान्तवास वा न्यूनतम मानवीय आवश्यकता बाट किन अलग गरिन्छ भन्ने प्रश्न राख्दा त्यसको युक्तियुक्त जवाफ छाउगोठमा राख्ने वा बस्नेले दिन सक्दैनन्। किनभने त्यो आफैँमा रूढिवादी तथा अल्पज्ञानमा आधारित छ। वेद, उपनिषद्, विभिन्न ग्रन्थको रचना तथा हाम्रो संस्कार सभ्यताको सिर्जना कसैलाई मानवता विहीन बनाउने होइन। त्यसैले यो रूढीबुढी एवं अन्धविश्वास भएको स्पष्ट हुन्छ।

छाउ भएका महिलाले गाई-भैसीको दूध, दही, घ्यू खान नहुने; एकान्त ठाउँमा बस्नुपर्ने; कसैलाई छुन नहुने; छ दिनसम्म छाउ बार्नुपर्नेमा चार दिनसम्म त नुहाउन समेत नपाइने नियम आफैँमा अवैज्ञानिक छन्। प्राकृतिक शाश्वत प्रक्रिया पापको प्रायश्चित कसरी हुन सक्छ?

हुन त महिलाको प्रसव वेदना पापको प्रायश्चित नै हो भन्ने केही शास्त्रीय तर्क दिइन्छ। तर वैज्ञानिक रूपमा पुष्टि नभएका, व्यक्ति, परिवार, समाजको आत्मोन्नति गराउन नसक्ने जुनसुकै नियम, संस्कार, परम्पराहरू हिन्दू धर्मशास्त्रहरू, वेद, पुराण, उपनिषद्, गीता, महाभारतले, रामायणले ग्रहण गर्न सक्दैनन्।

यसकारण हिन्दू धर्मशास्त्रका खास मान्यता गूढ रहस्यविहीन समाजमा प्रचलित सम्पूर्ण अन्धविश्वास, धारणाहरू, नियमहरू, संस्कारहरू संस्कृतिभित्र पर्न सक्दैनन्। ती त संस्कृतिभित्रका विकृतिहरू हुन्। यिनलाई संस्कार-संस्कृति परम्पराको नाममा मनाउने प्रचलन छोडिदिँदा मात्र वास्तविक संस्कृति संस्कारको जर्गेना हुन्छ। यसको समाधान — झूटा ज्ञान, झूटा विश्वास, गलत धारणाको विरुद्ध सत्यज्ञान, शाश्वत ज्ञान र सत्यसंस्कारमा आधारित मूल्य मान्यता अनुसरण गर्नु आवश्यक छ।

भारतको सर्वोच्च अदालतले केही समयअघि मात्र मुस्लिम समुदायमा प्रचलित ‘तलाक’ प्रथालाई अवैध मानी त्यो मुस्लिम धर्म अनुसार नभएको ठहर गर्‍यो। मुस्लिम धर्मको पवित्र धर्मग्रन्थ जसको हवाला दिएर तीन पटक ‘तलाक’ भन्यो भने स्वाभाविक रूपमा सम्बन्धविच्छेद हुन्छ भन्ने कुरा पनि हास्यास्पद प्रकृतिको हो। जुन कुराको शाश्वत अवस्थाको बुझाइबिनै मुस्लिम समुदायले अनुकरण गरे, त्यसले कति ठूलो अन्याय गर्‍यो होला भन्ने सहजै अनुमान गर्न सकिन्छ।

धर्म भनेको धारण गर्न योग्य वस्तुको धारण गर्नु र अयोग्य वस्तु त्याग गर्नु नै धर्मको गूढ रहस्य हो। तर हाम्रो समाजमा धर्मको नाममा अयोग्य कुरालाई पनि धारण गरेर योग्य कुरालाई त्याग गर्ने प्रवृत्तिले नै धर्म-संस्कृति-परम्परालाई विकृत तुल्याएको छ। अझ सरकारी पक्षबाट त्यस्ता कुरामा मलजल हुँदा ती रूढीबुढी धारणा मौलाएका छन्।

धर्मशास्त्रअनुसार शासन चलाउने, ‘जसको पाप, उसैको गर्दन’ भन्ने तत्कालीन गोरखाका राजा रामशाहका पालामा कुनै महिलालाई पञ्चले बोक्सी ठहर्‍याएमा गाउँनिकाला गरिन्थ्यो भने राजाका रानीहरू समेत सती गएका थुप्रै उदाहरण छन्।

अहिले राज्यकोषको पैसाले परम्पराका नाममा धेरै मठ-मन्दिरहरूमा बलि चढाइन्छ। राष्ट्रका धेरै उत्सवमा अशौच बसेकालाई उपस्थित नहुने गृहमन्त्रालयको सूचना जारी गरिन्छ। पशुपतिनाथ जस्तो ठाउँमा हिन्दु बाहेकलाई प्रवेश निषेधको सूचना टासिन्छ। खै त राज्य र सरकार पनि रुढिवादीका विरुद्ध पूर्ण रूपमा उभिन सकेको?

यसकारण जसरी छाउपडी प्रथा लगायत रुढिबुढी प्रथाको अन्त्यका लागि हालैको समयमा सुदूरपश्चिम र कर्णाली लगायत जिल्लामा छाउपडी गोठ भत्काउने अभियान चलेको छ, त्यो आफैँमा सतही एवं अल्पज्ञानमा आधारित छ। छाउपडी हटाउन मानिसको मन, चलन, परम्पराभित्रको अज्ञानता भत्काउने, गलत परम्पराको विरुद्ध शाश्वत एवं वास्तविक परम्पराको विकल्प देखाएर योजना ल्याई त्यसै अनुसार सभ्य एवं शाश्वत संस्कारको जागरण ल्याउनु पर्दथ्यो।

तर त्यो नभई मानिसले पैसा, परिश्रम गरेर बनाएका छाउगोठ भत्काइएपछि मानिसले प्रश्न गर्छन् किन? यस्तो अवस्था भनेको पुरानोलाई परिवर्तन गरेर नयाँ शाश्वत संस्कार देखाउने मार्गदर्शन र दर्शनको अभावले समाज अझै अन्धकारमा रहेको अवस्था हो।

यसकारण अहिलेको अति महत्वपूर्ण प्रश्न “छाउगोठ भत्काउनु अघि किन केही गरिएन? अब के गर्ने?” भन्ने कुराको सत्यमार्ग नै समस्याको निकास हो। त्यसकारण संस्कृतिविद्, धार्मिक अगुवा एवं कानूनविद्को सृजनशीलता र वास्तविकताको बोध नै समस्याको समाधानको उपयुक्त मार्ग हो।

अज्ञानता र रूढिबुढी ग्रस्त ठाउँको परिवर्तन लहड वा जबर्जस्तीबाट आउँदैन। त्यसैले भारतीय विद्वान तथा संविधानविद् डा. बी.आर. अम्बेडकरले भनेका थिए जबर्जस्तीको परिवर्तन डर वा लहडको आधारमा हुन्छ। जब डर वा लहडको संकेत हट्छ, उही पुरानो दोहोरिन्छ। तर जब वास्तविकताको बोध गराएर शाश्वत मूल्य मान्यतामा आधारित परिवर्तन आउँछ, त्यसले दिगो परिवर्तन मात्र ल्याउँदैन, नयाँ सभ्यता एवं सृजनशीलताको जन्म पनि दिन्छ, जसरी सतीप्रथामा परिवर्तन ल्याउन सकिएको थियो।

यसकारण समाजमा वास्तविक परिवर्तनका लागि हामीले पनि हाम्रो धर्म, संस्कृति, परम्पराभित्रका अज्ञानतामा आधारित गलत चलनको विरुद्धमा वास्तविकताको संरक्षण र प्रवर्द्धन अभियानमा लाग्ने कि? झूटा एवं धर्मशास्त्रको गूढ रहस्य विपरीतका अवैज्ञानिक संस्कार-चालनहरू जस्तोसुकै भए पनि ती अन्धपरम्परा हुन्।

मानव जात-जातीबीच विभाजन ल्याउन, मानिसलाई दुःख कष्ट दिन, भेदभावमा आधारित समाज निर्माण गर्न, शारीरिक–मानसिक हिंसा गर्न तथा असहिष्णु ढंगबाट धर्मशास्त्रको रचना भएको होइन।

धर्मशास्त्रहरू सबैको कल्याण र न्यायका खातिर बनाइएका हुन्। त्यसैले धर्मशास्त्रहरू कहिल्यै पनि अन्धपरम्पराका पर्याय हुन सक्दैनन् भन्ने चेत सबैमा जगाउने कि?

यस्तो भयो भने मात्र हाम्रो धर्म-संस्कृतिको वास्तविक संरक्षण हुनेछ। हिन्दू धर्मका कमजोरीबाट कसैले पनि फाइदा उठाएर धर्म परिवर्तन जस्ता कार्य गर्न सक्ने अवस्था पनि रहने छैन। हाम्रो समाजको एकता, बन्धुत्व तथा सबैको कल्याण र सद्भाव कायम हुनेछ।

नत्र भने हाम्रो संविधान तथा सर्वोच्च अदालतले संसद र सरकारका नाममा छाउपडीविरुद्ध कानून बनाउनू भन्ने आदेश दिएपछि संसदले कानून बनाएर छाउपडीमा छुवाछुत गर्नेलाई तीन महिना कैद वा ३,००० रुपैयाँसम्म जरिवाना गर्ने कानून बनाए पनि छाउपडी यथावत् रहनु हाम्रो समाजको अज्ञानता र मूर्खतामा आधारित रूढिवादी संस्कार एवं सोच हो।

र, यो सोच बदल्न सक्ने शाश्वत ज्ञान–संस्कारको बोध समाजलाई दिन नसक्ने सरकार, संस्कृतिविद्, कानूनविद्हरूको सामाजिक अभियन्ता भूमिका अभाव पनि हो।

सम्बन्धित समाचार

ताजा न्यूज