सत्यता नै न्यायको जननी भएको हुनाले न्यायका लागि सत्य नै एक मात्र सोपान हो । न्यायकलालागि सत्य बाहेक अन्य कुनै विकल्प छैन भने सत्य देखी कहिल्यै भय पनि हुन सक्दैन । यो जगतको सत्य स्वरूप तथा आनन्द स्वरूप नै न्याय हो । न्याय जहिले पनि गुणी तथा न्यायिक व्यक्तिमा अन्तर्निहित भएको मानिन्छ । पूर्वीय न्याय पद्धतिमा हिमालय पर्वत देखी कन्याकुमारी सम्मको क्षेत्रमा सत्य मेवः जयतेः सत्यम् बदः धर्म चरः सत्येनः रक्ष्यते धर्मोःभनिएको हो । सत्यको कारणले नै पृथ्वी टिकेकी छन् । सत्यकै कारण सूर्य तातो छ र सत्य कै कारण हावा बहन्छ । अतः सबै कुरा सत्यमै आधारित छन् । यस कारण विद्धता,चलाखी ,छट्टुपन,कपटपन सनकपन स्वार्थपनलाई न्यायिक वैधता नदिएको हो । यद्यपि विद्धानलाई पूजनीय मान्ने संस्कारको विकास भएको छ । यसरी भारतीय उपमाहाद्धिपमा प्रचलनमा ल्याएको उक्त सिद्धान्त तत्वदर्र्षी ऋषिहरूले ठुलो त्याग,साधना,पवित्रता एवं तपस्याबाट प्राप्त उपलब्धि हात पारेका हुन । जुन कुराबाट मात्रै न्याय हुन्छ भन्ने अन्तिम निष्कर्षमा पुगेका हुन । भारतीय सर्वोच्च अदालतको न्यायाधीशको कुर्चीमा –यतोःधर्मम् ततोजयः भनी लेखिएको हुन्छ । त्यसैले चलाखी ,विद्धान एवं टाठाबाठाहरु चलाखीको अस्त्र प्रयोग गरेर तथा विद्धानहरूले विद्धताको अस्त्र प्रयोग गरेर पनि समाजलाई आफ्नो स्वार्थ अनुकूल लट्ठ्याएको अनुचित प्रभावमा पारेको आफ्नो प्रभुत्व जमाएर अज्ञान गरिबी अन्धविश्वास अभाव चेतना परिस्थिति लगायतको कारणको फाइदा उठाएर कसैले पत्तै नपाउने गरी अन्याय गरेको पनि हुन सक्ने कुरा साधनाको बलबाट देखेका हुन । भने सत्यमा कुनै पनि प्रकारको कपट ,षडयन्त्र अहङ्कार केही पनि नभई प्रकृतिको शान्त सौम्य सम एवं लाटो स्वभाव अन्तर्निहित रहेकाले यसको नै जित हुन्छ भनी निकालेको न्यायको अन्तिम निष्कर्ष हो । यसमा अहिलेसम्म न कुनै विवाद छ न यसबाट कसैलाई हानी हुन्छ न यो कसैको पक्ष वा विपक्षमा छ यो नै हाम्रो पूर्वीय दर्शनले सबभन्दा पहिला बाहिर ल्याएर विश्वलाई दिएको योगदान हो यसप्रति हामीले गर्व गर्नु पर्दछ । त्यसैले सत्यको अभावमा विलासितापूर्ण मोहित चलाखीपूर्ण र स्वार्थपूर्ण जीवनले न्यायको अमृतपान संसारलाई दिन प्रायःअसंभव हुन्छ । यस कारण सत्तपात्र हुनु र विद्धान हुनु फरक फरक विषय मानिएका हुन ।
संसारमा प्रकृतिको शाश्वत स्वभाव भएका आफ्नै चेतना नभएका दायाँ बायाँ गर्न नसक्ने प्राणी वनस्पतिले आफ्नो शाश्वत स्वभाव कहिल्यै छोड्न सक्दैनन् । त्यस कारण तिनले अन्याय गर्न सक्दैनन् तिनले गर्ने हरेक घटना प्राकृतिक वा प्रकृति प्रदत्त घटना मानिन्छन् । मानिस भने चेतनशील भएकाले यो सत्यको पालना गर्नु अनिवार्य छ अथवा प्राकृतिक नियमको पालना गर्नु पर्दछ । प्रकृति प्रदत्त चेतना शक्ति मानिसलाई मात्र वरदान स्वरूप प्रकृति प्रदत्त प्राप्त भएकोले यसको आधारमा नै न्याय अन्याय ठिक बेठिक छुट्ट्याउने क्षमता प्राप्त भएको छ । यो प्रकृति प्रदत्त चेतना शक्तिको समुचित प्रयोगको सम्बन्धमा नै विभिन्न साहित्य ,निबन्ध, विधि कानून, कविता, दर्शन, मत, गीत, सङ्गीत, संस्कार, विभिन्न चिकित्सा पद्धतिको विकास भएको छ । तैपनि मानिस चेतना तत्त्वको पूर्ण प्रयोगबाट भने सधैँ चुक्दै आएको छ । भारतीय समाजमा एक भनाइ छ झुट बोले तो कौवा काटे यसको नेपाली अर्थ हो झुटा बोले पछि दुखको बाटो सोझिन्छ । यसर्थ यही झुट कार्य असत्य कार्य वा चेतना तत्त्वको पूर्ण प्रयोग गर्नबाट चुकेकै कारण अन्यायका विभिन्न स्वरूपहरूको जन्म हुन गई फेरी त्यसै सत्यको प्राप्ति वा प्राकृतिक अवस्थामा फर्कनका लागि मानव समुदायले ठुलो मूल्य चुकाउनु परेको छ । यस कारण प्राकृतिक कानून वा न्याय वा सत्य जे भने पनि मानिसले कहिल्यै छोड नै नसकिने न्याय हो । मानव सभ्यताको इतिहास घटना परिघटनाले पनि यो कुरा पुष्टि गरिरहेको छ भने द्वन्द्वको शास्त्रले पनि यही कुरा बताइरहेको छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र सन १९४८ यसको प्रत्यक्ष प्रमाण हो । अति उच्च महत्त्वाकाङ्क्षा, अहङ्कार, असहिष्णुता, अविवेक लगायतका कारण उत्पन्न भएको विश्वयुद्ध असङ्ख्य धन जनको विनाश लीला पछि पुनः मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा आएर टुङगीयो त्यो पनि शक्तिको इशारामा शक्ति सन्तुलनको स्वार्थको भाषामा लेखिएर । नागरिक तथा राजनीतिक अधिकार पुजिवादी मुलुकको तथा सामाजिक आर्थिक अधिकार साम्यवादी शक्तिको इशारालाई बढी जोड दिएर लेखिनु यसको प्रत्यक्ष प्रमाण तथा दुर्भाग्यपूर्ण अवस्था पनि हो । ज्ञान वा न्यायका सूत्रहरू साधना एवं त्यागको इसारामा होइन कि शक्तिको इसारामा लेखिनु संवेदनशील मानिसका लागि कति सोचनीय विषय छन् । जबकि त्यो भन्दा पहिला नै मानव अधिकारको विश्वव्यापी घोषणापत्र भन्दा महान् मानव जातीको कल्याणका लागि अति आवश्यक ज्ञान एवं न्यायका सूत्रहरू विकसित अवस्थामा थिए । तर ती सत्य प्राकृतिक न्यायको कुरालाई मानव समुदायले उलङ्घन, अपमान, अपेक्षा भाव एवं त्यस माथि मूर्खता ग¥यो । फलस्वरूप ठुलो धन जनको विनाशको मूल्य चुकाएर फेरी त्यसैमा फर्कन बाध्य भयो । अझ पनि फेरी उही स्वार्थ उच्च महत्त्वाकाङ्क्षा इतिहासबाट केही नबुझे जस्तै एक अर्का माथि विश्वास गुमाए जस्तै आ-आफ्नो स्वार्थलाई लाद्ने दाउमा फेरी मानव सभ्यताको उच्चतम विन्दुमा पुग्न तीर होइन अणु बम परमाणु बम जस्ता मानव सभ्यतालाई नष्ट गर्ने हतियारको प्रतिस्पर्धाबाट आफू शक्तिशाली बन्ने होडबाजी गरी मानव सभ्यतालाई चुनौती दिने मूर्खता वैज्ञानिक विकाससँग सँगै गरी रहेको छ । यस कारणले यस्तो कार्यबाट उत्पन्न परिणामबाट बचाउने उपयुक्त उपचारको सम्बन्धमा अक्सफोर्ड विश्वविद्यालयका कानूनका प्राध्यापक A.L .Goodhar ले कानूनी सार्वभौमसत्ता वा कानूनी सर्वोच्चताको सिद्धान्तबाट मात्र यस्ता आवेशगत बहुलट्टीपन लोभ लगायत शक्तिको उन्माद र अविवेकले मौलाएका तानासाही व्यवस्थाको कारण पत्ता लगाएर भविष्यमा विश्वलाई हाइड्रोजन बम जस्ता विज्ञानको आविष्कारको अनुचित प्रयोग, राजनीतिक शक्तिको उन्माद, संस्कार संस्कृति माथिको आक्रमण, स्वार्थपन, भ्रष्टाचार, अज्ञानता लगायतबाट हुने विनाशबाट जोगाएर एक अर्काको अधिकार, कर्तव्य, सहअस्तित्व एवं अस्मिता, संस्कार संस्कृतिको रक्षा गरी लोकतन्त्र, सहअस्तित्व विश्व सभ्यता र शान्ति कायम गर्न सकिन्छ नत्र भने सम्पूर्ण मानव जातिले विनाशको सङ्कटको सामना गर्नु पर्ने भविष्यको सचेतना दिँदै भनेका होलान् We must hang together or we shall all hang separately अतः यस्तो खतरनाक विनाशको सङ्कट अवस्थाबाट मुक्त गर्न व्यक्ति ,परिवार समाज राष्ट्र र विश्वलाई नै शान्ति सहअस्तित्वमय सृजनशील मय बनाउन न्यायको तत्त्वको पहिचान गरी सबैमा न्यायको वास्तविक अनुभूति एवं पहुँच पु¥याउदै शान्ति सद्भाव आनन्द सृजनशीलता एवं विकासको वातावरण निर्माण गर्नु पर्ने कर्तव्य कानूनकर्मी एवं न्यायकर्मीको काँधमा आएको हो भनेका होलान् । यस कारण विश्वको न्याय बचाउने काममा हामी कानूनकर्मी एवं न्यायकर्मीको जिम्मेवारी कति गहन छ आफैमा प्रस्ट छ ।
जङ्गली सभ्यतामा प्रकृति प्रदत्त रूपमा केवल खानका लागि तैपनि भोग लागेको अवस्थामा एक प्राणीले अर्को प्राणीको हत्या गर्ने बाहेक अन्य अवस्थामा खानकै लागि पनि चोरी, ठगी, बलात्कार हत्या ,हिंसा आतङ्क आदी हुन नै सक्दैनन् । तर मानिस भने खानकै लागि भने चोरी, ठगी, बलात्कार हत्या, हिंसा आतङ्क अनुचित प्राकृतिक दोहन मच्चाइ रहेको छ । यही चेतना शक्तिको समुचित प्रयोग गर्न नसकेर अनुचित रूपमा प्रकृतिको दोहन, चोरी, ठगी, बलात्कार हत्या, हिंसा आतङ्क प्रतिशोध गरेर कति ठुलो मूल्य चुकाई रहेको छ । सुखको चाहना मानिसको नैसर्गिक अधिकार भए पनि प्राकृतिक न्याय वा सत्यलाई नै उलङ्घन गरेकै कारण पृथ्वी लोकका सम्पूर्ण मानव लगायत प्राणी वनस्पतिले धेरै प्रकारका कठिनाइ वेर्होनु परि रहेको छ । एक मानिस माथि अर्कोको विश्वास छैन चलाखीको भरमा सामाजिक जीवन चलेको छ । चलाखीको परिबन्दमा पर्ने हो कि भन्ने डर चिन्ता छ । जसको कारण संविधान र कानूनले अधिकार दिए पनि स्वच्छन्द रूपमा हिँडडुल गर्ने बोल्ने व्यवहार गर्ने काम मानिसले गर्न सकिरहेको छैन । मानिसको जीवन स्वतन्त्रताको अधिकार अपहरणमा परेको जस्तै छ । विवाह जस्तो पवित्र सम्बन्ध सम्बन्ध विच्छेदमा परिणत भएको छ । खागगरी मानिसहरूमा अभाव गरिबी परिबन्द न्यायमा पहुँचको अभाव चेतना लगायतका कारण आत्महत्याको क्रम चलेको छ । अनुचित प्राकृतिक दोहनले वन जङ्गलको विनाश भई पानीका मूल सुक्न थालेका छन्, हमालमा हिउँको मात्रा घट्दो अवस्थामा रहेको छ । पारिस्थितिक प्रणालीमा असन्तुलन, अति वृष्टि अनावृष्टिको क्रम बढ्दो छ । अपवित्र मानिसहरूको हातमा सत्ता भएर नै हुन सक्दछ । भ्रष्टाचार लगायतको बदमासीको क्रम बढी भ्रष्टाचार जस्तो अति गम्भीर अपराधको जरो समात्न नसकी रहेको अवस्था छ । फलस्वरूप एकको कारणले अर्को गरिब, निराश वा अभाव सित बाच्नु पर्ने अवस्थाको सृजना भएको छ । भौतिक कुराको अपवित्र प्रतिस्पर्धाले समाज झन् वर्गीय अवस्थामा गइरहेको छ । सत्य सिधा इमानदार मानिसको इमानदारी तिरस्कार वा निराशाको विषय बनिरहेको छ ।
पद भनेको गहन जिम्मेवारीले थिचिएको अर्काले गरेको अन्यायलाई न्यायमा परिणत गराउन राज्यको सृजनासँगै कल्पना गरिएको एक कर्तव्य बोधक ठाउँ हो । यसको ठुलो महत्त्व समाजको मूर्खतापूर्ण चिन्तनले एवं सामन्ती स्वभावले मात्र बनाएको हो । प्रकृतिको नियमले पृथ्वी ग्रहको २९% मात्र भूभागमा बसोबास गर्ने सम्पूर्ण मनुष्यको खास आवश्यकता मूलभूत तत्त्व एकै एकै भए पनि भूगोल सभ्यता भाषा संस्कार रहन सहन, धर्म,चेतना दृष्टिकोण सोचाई स्वार्थ आदीमा विविधता बनाएको छ यो प्रकृतिको नियम हो वास्तविक तत्थ्य हो । यी सम्पूर्ण विविधताका बिचमा प्रकृतिले कुनै भेदभाव गरेको छैन । यस कारण यो विविधताको असल अभ्यास गर्ने त्यसको अनुसरण गर्ने अझ राम्रो बनाउन विकास गरी यो विविधता बिचको सन्तुलन न्याय बचाउने प्रथम दायित्व स्वयम व्यक्ति समुदाय समाजको हुन्छ । भने यो विविधता बिचको सन्तुलन बचाउन जागरण ल्याउने उत्प्रेरित गर्ने लगायतको दोस्रो दायित्व राजनीतिको हुन्छ भने यसको उलङ्घनको अन्तिम न्याय गर्ने अधिकार भने न्यायालयमा नै रहेको हुन्छ । यस कारण हामी सबैले आ आफ्नो ठाउँबाट प्राकृतिक न्याय अनुरूप आफ्नो कर्तव्य गर्दै गयौँ, सत्यको चिन्तन गर्दै गयौँ भने हामी सबका सब न्यायाधीश बन्दछौँ । अनि यो धर्ती स्वर्ग जस्तो न्यायपूर्ण बन्दछ त्यहाँ खुसी आनन्द सृजनशीलता बाहेक अन्य कुनै कुरा भेटिँदैन । हत्या, हिंसा, बलात्कार, चोरी, ठगी, कपट, चलाखी, रोग ,अभाव, चिन्ता, भय विनाश जस्ता कुराहरू आफै हराएर जान्छन् । त्यसको लागि हामी प्राकृतिक न्यायको पूर्ण सम्मान गरौँ अनुकरण गरौँ अनुसरण गरौँ न्यायको लागि न्यायालय गठन गर्न नै पर्दैन घर घरमा न्यायालय हुन्छ न्यायको निजत्वको सार पनि यही हो ।
नेपाल भनेको सगरमाथा लगायत हिमालय पर्वतको छत्र छहारीमा हुर्केको, गौतम बुद्ध, राजा जनक, पाणिनि जस्ताको त्याग साधना ज्ञान आदर्श मर्यादाको आलोकमा संस्कारित भएको सप्तकोसी, कर्णाली, गण्डकी लगायतका नदिहरुबाट सिञ्चित अन्यायका विरुद्ध हरेक तरहले सङ्घर्ष गरी वीर गोर्खालीको नामले विश्वमान चित्रमा परिचित तथा भैोगोलीक, सामाजिक, सांस्कृतिक, जातीय, भाषिक विविधता बिचको एकता कायम भएको देश हो । नेपालका पूर्व सर्वोच्च अदालतका माननीय न्यायाधीश स्व. लक्ष्मणप्रसाद अर्यालको भनाई अनुसार न्याय नेपालको स्थापना गर्न वा त्यसको तत्त्व पहिचान गर्न सत्यतालाई आधार बनाउनु आवश्यक छ । न्याय वा सत्यलाई ढाक्ने वा त्यसलाई दबाउने कुराहरू जस्तै गुट, चलाखी, अर्कमन्यता शक्ति, सत्ता वैभव, स्वार्थ, कपट मूर्खता, विभेद, असक्षमताको पहिचान गरौँ न्याय आप से आप स्थापना हुन्छ र सत्यको जीत हुन्छ । राज्यले न्यायालय गठन गरेर न्याय गर्ने कुरा बाध्यताले गर्नु परेको हो भन्ने कुराको मर्म बुझौँ । संसारमा सृजना भएका हरेक शास्त्रहरू चिकित्सा शास्त्र , राजनीति शास्त्र, विधि शास्त्र शिक्षा शास्त्र, धर्मशास्त्र कला शास्त्र समाजशास्त्र लगायत सबै ज्ञानका सूत्र र शास्त्रहरूको अन्तिम सार पनि त्यही हो । कुनै पनि विश्व विख्यात राजनीति शास्त्री, विधि शास्त्री, वैज्ञानिक चिकित्सा शास्त्री किसान लगायत असल व्यक्तिको अभ्यास घर परिवार बाटै हुने गर्दछ । सबै नागरिकमा न्यायको निजत्व स्थापना गरी सभ्य न्यायिक एवं सृजनशील समाजको निमार्णको अभ्यास संस्कार वा त्यसको अभिमुखीकरण घर परिवारबाट नै प्राप्त हुने हुँदा घर परिवारलाई नै न्यायालयको अर्को रूप बनाउने तिर लाग्ने की ?