काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मंगलबार पर्सा जिल्ला अदालत पुगेका छन्। पर्साको वीरगञ्जस्थित सानो पाइला सहकारी ठगी प्रकरणमा उनीविरुद्ध परेको मुद्दाको सिलसिलामा लामिछाने तारेख बुझ्न अदालत पुगेका हुन्। सहकारीको रकम अपचलन र ठगीको आरोपमा अनुसन्धान र कानुनी प्रक्रिया जारी रहेकै बेला उनी कानुनी औपचारिकता पूरा गर्न त्यहाँ पुगेका हुन्।
सानो पाइला सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको थियो। सोही मुद्दाको कानुनी प्रक्रिया अनुसार अदालतले तोकेको समयमा उपस्थित भई उनले आफ्नो तारेख लिएका हुन्।
सहकारी ठगी प्रकरणमा नाम जोडिएपछि लामिछानेले विभिन्न जिल्लामा पुगेर कानुनी प्रक्रियाको सामना गरिरहेका छन्। पर्सा अदालतमा तारेख बुझे लगत्तै उनी त्यहाँबाट फर्किएका छन्।

